निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा खटिने गरी जिम्मेवारी तोकिएका कर्मचारीहरु जान नमानेमा कडा कारवाही गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलले बिहीबार एक वक्तव्य निकालल्दै मतदान केन्द्रमा खटाइएका कर्मचारी र शिक्षकसहितले जान नमानेमा कडा कारबाही गर्न निर्देशन दिएका हुन् ।
‘स्थानीय तह निर्वाचनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील अवस्थाबाहेक फेरबदल नगर्नु,’ पौडेलले भनेका छन्, ‘उपर्युक्त कारण परेको अवस्थाबाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोग निर्देशन गर्दछ ।’
आयोगले मतदानका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न पनि आदेश दिएको छ । भोजपुरसहितका विभिन्न जिल्लामा शिक्षकसहित मतदान केन्द्रमा खटाइएकाहरुले असन्तुष्टि जनाइरहेका छन् । शिक्षकहरुले आफूभन्दा तल्लो तहका कर्मचारीलाई मतदान अधिकृत बनाएर आफूहरुलाई सहायक मतदान अधिकृत तोकिएको भन्दै निर्णय नसच्याए निर्वाचनमा नजाने चेतावनी दिइरहेका बेला आयोग बोलेको हो ।
सत्यपाटी । काठमाडौं ।