सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

नेपालगन्जको घोसीटोलमा घन्कियो नारा, ‘प्रशान्त विष्ट हाई–हाई’

विरोधी शक्तीलाई पराजित गर्नु नै अहिलेको आवश्यकता

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन आफुहरुले कुनै कसर बाँकी नराखेको नेकपा माओबादी केन्द्रका नेताहरुले बताएका छन् ।

नेपालगन्जको वडा नम्बर ४ घोसीटोलमा बिहीबार(आज) बिहान आयोजित घरदैलो कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

नेकपा माओबादी केन्द्रका नेता अहतर हुसेन फारुकीले संविधान रक्षा गर्नका लागि केन्द्रबाटै पाँच दलबीच गठबन्धन बनेको र संविधान विरोधी शक्तीलाई पराजित गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

‘संविधान विरोधी शक्तीका विरुद्ध यो गठबन्धन बनेको हो, नेपालगन्जमा गठबन्धनका तर्फबाट नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्धिन राईको विजयी निश्चित भइसकेको छ,’ उहाँले भन्नुभयो ‘उहाँहरु दुबै जना हाम्रा साझा उम्मेदवार हुनुहुन्छ, माओबादी केन्द्रले उहाँहरुलाई विजयी गराउन आफ्नो सबै संयन्त्र परिचालन गरेको छ ।

’यस्तै नगर प्रमुख पदका उम्मेदवार विष्टले विशिष्त परिस्थितीमा गठबन्धन बनेको स्मरण गराउँदै आफुहरु निर्वाचित भएपछि सबैले गर्व गर्न लायक काम गर्ने बताउनु भयो ।

‘केपी ओली नेतृत्वको सरकारले जुन रुपमा संविधानलाई धुजा धुजा पार्ने काम गर्यो, भ्रष्टाचारमा लिप्त भयो, त्यसैका विरुद्ध हाम्रा केन्द्रीय नेताहरुले गठबन्धन बनाउनु भएको हो,’ विष्टले भन्नुभयो ‘विभिन्न परिस्थिती र छोटो समयका कारण नेपालगन्जमा नगर प्रमुख र उपप्रमुख बाहेक वडा स्तरमा गठबन्धन बन्न सकेन, यसमा म दुःखी छु, तरपनि गठबन्धनकै साथीहरु नेपालगन्जका २३ वटै वडामा निर्वाचित हुनुहुनेछ ।’

उहाँले नगर प्रमुख पदमा आफुलाई रुख चिन्हमा र उपप्रमुखमा कमरुद्धिन राईलाई छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । सो क्रममा नगर प्रमुख पदकाव उम्मेदवार विष्टले वडा नम्बर ४ को घोसी टोल लगायत स्थानमा माओबादी केन्द्रका नेता, कार्यकर्तासँगै घरदैलो गर्नु भएको थियो ।

सो क्रममा उनीहरुले ‘प्रशान्त विष्ट हाई हाई’, ‘अबको मेयर प्रशान्त विष्ट’ जस्ता नाराहरु लगाएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १२:१६