त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए ।
‘केही छैन । तै पनि अपरेसन हुँदैछ, भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ,’ एसएसपी कुँवरले भने । बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको थियो ।
प्रहरीका अनुसार त्यो व्यक्तिले विमानस्थलको आत्तरिक टर्मिनल क्षेत्रमा बम राखेको र त्यसलाई डिस्पोज गर्न चुनौती दिएपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद वस्तु फेला नपरेपछि करिब डेढ घण्टापछि विमानस्थलबाट सबै उडान सुचारु भएका छन् ।
यसरी आएको थियो बम राखेको थ्रेट
बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक आयो । विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए । फोन उठाउने वित्तिकै उताबाट भनियो, ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ । दुई घण्टाभित्र विस्फोट हुन्छ ।’
त्यसको केही समयपछि पुनः फोन आयो । यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न नपाउँदै उताबाट सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विस्फोट हुने कुरा दोहोर्याए । आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए । त्यसपछि तत्कालै सुरक्षा निकायलाई खबर गरियो ।
बिहान ९ः४० देखि ९ः५० को बीचमा बम राखेकोबारे सूचना पाएपछि विमानस्थल प्रशासनले एक्सन लियो । विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलिरहेका थिए । तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भयो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा सर्च अप्रेशन चलायो । बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्रमात्र नभएर शौचालयहरूमा समेत सर्च गरियो । सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही पनि नपाइएको प्रवक्ता सिटौलाले जानकारी दिए ।
बम राखेको सूचना आएपछि १० बजेदेखि नै सर्च अप्रेशन सुरू गरिएको उनको भनाइ छ । सर्च अप्रेशन सुरु गर्नुअघि एयरपोर्ट इमरजेन्सी प्लानअनुसार अपनाउनुपर्ने सावधानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकालियो । र सबै विमानहरूको उडान बन्द गरियो ।
सुरक्षा निकायले तालिमप्राप्त कुकुरदेखि बम डिडेक्टरको सहायताले सर्च अप्रेशन चलाइएको थियो । तर, केही पनि शंकास्पद बस्तु फेला नपरेको प्रवक्ता सिटौलाले बताए । थ्रेट दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको उनको भनाइ छ ।
शंकास्पद बस्तु फेला नपरेपछि बिहान ११ः१० बजेदेखि विमानस्थल सुचारु गरिएको उनको भनाइ छ । विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रेटकलबारे अनुसन्धान थालिएको बताए । ‘फोन गर्ने व्यक्तिबारे अनुसन्धान थालिसकेका छौं । अनुसन्धानपछि नै थप कुराहरू खुल्नेछन्,’ ढकालले भने ।
विमानस्थलमा कुनै थ्रेट आएको खण्डमा बम नै राखिएको जस्तो मानेर अप्रेशन गर्नुपर्ने विमानस्थल प्रवक्ता सिटौलाले बताए । ‘बम थ्रेट आएपछि यसलाई मजाकको रूपमा नलिई साच्चिकै बम नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौ,’ प्रवक्ता सिटौलाले भने, ‘किनकि त्यो थ्रेट साँच्चै हो कि झुटा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन । त्यसैले हामीले साँच्चै नै बमै हो भनेर काम गर्नुपर्छ ।’
यो बीचमा कुनै शंकास्पद बस्तु देखेमा तत्कालै सुरक्षा निकायलाई जानकारी दिन सबै यात्रुहरूलाई अनुरोध गरिएको उनको भनाइ छ । एक घण्टाभित्रै सर्च अप्रेशन सकिएको भन्दै डिले भएका सबै उडान आज दिनभर गन्तव्यमा पुरयाइ सकिने बताए । ‘केही विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुन थालिसकेका छन् । एक घण्टा मात्रै डिले भएको हो । यसमा रातिसम्म भए पनि सबै उडान सक्नुपर्छ,’ प्रवक्ता सिटौलाले भने ।
सत्यपाटी । काठमाडौं ।