सूचनाको शक्ति - The Power Of Information

        

एमालेबाट उम्मेदवार बनेका गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

भक्तपुर जिल्ला अदालतले ओखलढुंगाका एक उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी गरेका छ । नेकपा (एमाले)बाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

भक्तपुर जिल्ला अदालतले विष्टविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पत्र पठाएको छ । विष्टविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

अदालतले वैशाख १६ गते नै विष्टलाई पक्राउ गर्न ओखलढुंगा प्रहरीलाई पुर्जी पठाए पनि प्रहरीले अझै उनलाई पक्राउ गरेको छैन । विष्टविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेको छ ।

दोहोरो नागरिकता लिएको कुसुरमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ । विष्टले जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरीमा उल्लेख छ ।

लिखु गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका हुन् । निर्वाचन अधिकृत राजेशकुमार थापाले पछि कानुनबमोजिम हुने गरी हाललाई विष्टको मनोनयन पत्र खारेज गरिरहनु नपर्ने भनी निर्णय गरेपछि उनको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ ।

निर्वाचन आयोगको मतदाता नामावली सूचीमा विष्टका दुई नाम छन् । आयोगको मतदाता नामावली सूचीमा क्र.सं.१३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उनको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ ।

विष्टले २०४७ मा ओखलढुंगा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिएका थिए । त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ । यी दुवै नागरिकतामा उनको बुवाको नाम गणेशबहादुर विष्ट उल्लेख छ । दुबै नागरिकतामा ठेगाना भने पोकली–४ ओखलढुंगा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०७:०३