सूचनाको शक्ति - The Power Of Information

        

देशका १० सहरमा कांग्रेसको चुनावी सभा, कहाँ कहिले ?

स्थानीय तहको निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले आज (बुधबार)देखि देशका १० सहरमा चुनावी सभा गर्दैछ ।

‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को निर्णय अनुसार चुनावी सभा तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार चुनावी सभाहरुमा पार्टीका सभापति, पदाधिकारी लगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । पौडेलका अनुसार कांग्रेसले वैशाख २१ गते मोरङको विराटनगरमा आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापण्ण्ति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने छन् ।

वैशाख २२ गते चितवनको भरतपुरमा हुने चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेलसँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्ने बताइएको छ । यस्तै वैशाख २३ गते काठमाडौँमा हुन गइरहेको चुनावी सभालाई सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत नेताले सम्बोधन गर्ने कांग्रेस केन्द्रीय कार्यालय (सानेपा)ले जनाएको छ ।

रुपन्देहीको बुटवलमा वैशाख २४ गते बिहान ११ बजे चुनावी सभा आयोजना गरिने भएको छ । उक्त सभालाई सभापति, वरिष्ठ नेतासँगै महामन्त्री गगनकुमार थापाले, वैशाख २४ गते दिउँसो साढे १२ बजे तनहुँको दमौलीमा आयोजना हुने सभालाई देउवा, पौडेलसँगै प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने छन् ।

वैशाख २४ गते दिउँसो २ बजे धनुषाको जनकपुरमा सभापति, देउवा, वरिष्ठ नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादवले सम्बोधन गर्ने गरी चुनावी सभा आयोजना गरिने भएको छ । वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा हुने सभालाई सभापति, वरिष्ठ नेतासँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारले सम्बोधन गर्ने तय भएको छ ।

दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने सभालाई देउवा, पौडेल र सहमहामन्त्री किशोरसिंह राठौरले सम्बोधन गर्ने तय भएको छ । वैशाख २६ गते कैलालीको धनगढीमा सभापति, वरिष्ठ नेतासँगै सहमहामन्त्री फरमूल्लाह मंसुर तथा वैशाख २७ गते डडेल्धुरामा देउवा पौडेलसँगै सहमहामन्त्री बद्री पाण्डेले सम्बोधन गर्ने गरी चुनावी सभा आयोजना हुने मुख्य सचिव पौडेलले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०६:४७