सूचनाको शक्ति - The Power Of Information

        

दुईवटा रेल किनिए, चल्ने एउटा मात्र

जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ ।

अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ । सेवा सञ्चालनका लागि दुईवटा रेल सेट खरिद गरिए पनि अहिलेसम्म एउटा रेल मात्र व्यावसायिक रूपमा गुड्न सकेको छ ।

एक अर्ब तीन करोड रुपियाँमा किनिएका दुई रेलमध्ये एउटा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७८ चैत १९ गते संयुक्त रूपमा भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गरेका थिए ।

त्यसपछि चैत २० गतेदेखि दुईवटामध्ये एउटा रेल यात्रुसहित व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो । दुई सेट रेलमध्ये अहिलेसम्म अर्को रेल किन सञ्चालनमा आउन सकेन भन्ने जिज्ञासामा रेल विभागका महानिर्देशक दीपक भट्टराईले सो रेल्वे खण्डमा मात्र एक सेट रेल नै सञ्चालनमा आउने स्पष्ट पारे ।

उनले भने, ‘दुईवटा रेल सेटमध्ये एउटा ‘सर्भिसिङ’मा गएपछि मात्र अर्को सञ्चालनमा ल्याइने हो । अहिले सञ्चालनमा रहेको रेल ‘सर्भिसिङ’ वा मर्मत सम्भारमा गएपछि मात्र पार्किङमा राखिएको रेल सञ्चालनमा आउने हो ।’

‘उहाँले अगाडि भने, ‘दुईवटा रेल ल्याएका कारण नै त्यही हो । एउटा चल्ने अर्को स्ट्यान्डबाई बस्ने हो । एउटा सर्भिसिङमा गएको बेला अर्को चल्ने हो । सिस्टमै त्यही हो । सर्भिसिङमा गएको बेला वा बिग्रेको बेला सेवा रोक्ने कुरा त हुँदैन नि । त्यही भएर एउटा स्ट्यान्डबाई राखिएको हो ।’

मर्मतका लागि भारतकै भर

नेपाली झन्डा अङ्कित सो रेल सञ्चालनमा आएको एक महिना बितिसक्दा पनि ‘सर्भिसिङ’ वा मर्मत सम्भारका लागि भारतीय वर्कसप र प्राविधिककहाँ लैजानुपर्ने बाध्यता छ । नेपालमा रेलसम्बन्धी वर्कसप र प्राविधिक नभएका कारण ‘सर्भिसिङ’ वा मर्मत सम्भारका लागि भारतीय वर्कसप र प्राविधिककहाँ लैजानुपर्ने बाध्यता रहेको महानिर्देशक भट्टराईले बताए ।

उनका अनुसार जनकपुरमा रेलसम्बन्धी वर्कसप निर्माणको तयारी भइरहेको छ । उक्त रेल सेट खरिद गर्नका लागि सन् २०१९ को मेमा ८४ करोड ६५ लाख रुपैयाँमा भारतीय कम्पनी कोङ्कण रेल्वे कर्पोरेसनसँग दुईवटा डेमो रेल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भन्सार र मूल्य अभिवृद्धि करसहित कुल एक अर्ब तीन करोड रुपियाँमा खरिद गरिएको थियो । ती रेल गत वर्ष असोज २ गते भारतबाट जनकपुर आइपुगेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०६:००