सूचनाको शक्ति - The Power Of Information

        

‘जानकीको विकास कांग्रेसको काँधमा छ’-छब्बन खाँ

बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँसहित उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादव लगायतको टोली चुनावी प्रचारप्रसारमा व्यस्त छ । जानकीवासीको घर–घरमा पुग्दै उनीहरुका समस्या सुनेर निर्वाचित भएमा समाधान गर्ने प्रतिबद्धताका साथ उम्मेदवारहरु घरदैलोमा छन् । यसअघि पनि जानकी गाउँपालिकामा झिनो मत अन्तरले हार ब्यहोर्नुभएका खाँ यो पटक भने अध्यक्ष पदमा जित्ने विश्वास व्यक्त गर्नुहुन्छ । प्रस्तुत छ, अध्यक्षका उम्मेदवार खाँसंग गरिएको संक्षिप्त कुराकानी

जानकी गाउँपालिकाको अध्यक्ष पदमा किन पुनः लड्दै हुनुहुन्छ ?

जानकी गाउँपालिकाको अध्यक्ष पदका लागि मेरो उम्मेदवारी म एक्लैको निर्णय होइन । यो नेपाली कांग्रेस पाटीको निर्णय हो । म किन फेरि अध्यक्ष पदमा लड्दैछु भने, २०७४ सालको स्थानीय चुनावमा जनताले मलाई धेरै विश्वास गर्नुभएको थियो र म जितेको मान्छे पनि हो । तर, चुनावको मतगणनामा घोटाला भएर मात्रै सामान्य मतले मेरो हार भएको थियो । जुन दिन चुनाव सकियो त्यो दिनदेखि म आफ्नो तर्फबाट जानकीवासीको सेवामा लागिरहेको छु र जनताका समस्या बुझिरहेको पनि छु । म के भन्छु भने जनताको हितका लागि एमालेबाट जितेका साथीहरुले केही गर्न सकेनन् । यहाँसम्मकी बाटो बनाउन आएको पैसाले नल धारा किनेर आफ्ना–आफ्ना पार्टीका मान्छेहरुलाई बाँड्नुभएको छ । पाँच वर्षमा उहाँहरुको केही उपलब्धि देखिएन । त्यही भएर यो पटक एमालेलाई हराएरै छाड्ने अठोटका साथ फेरि चुनावमा लड्दैछु ।

चुनावी प्रचारको काम कस्तो भएको छ ?

हामीहरुले पूर्णरुपमा निर्वाचन आयोगले जारी गरेको नियमभित्र रहेर प्रचार गरिरहेका छौं । न कुनै होहल्ला छ न कुनै नारावाजी छ । जुलुस निकालेर मात्रै हुँदैन । जनताको वास्तविक समस्यालाई बुझ्न जरुरी रहेको छ । हामीहरु प्रत्येक जनकीवासीको घर–घरमा पुगिरहेका छौं । उहाँहरुको समस्या सुनिरहेका छौं । हामीलाई जानकीवासीले यो पटक जसरी पनि जित्नुपर्छ भन्नुहुन्छ । हाम्रो तर्फबाट चुनावको प्रचारका लागि गर्नुपर्ने काम सबै गरिरहेका छौं । यसको परिणाम पनि राम्रै आउने आशा छ ।

यसपटक जनताले तपाईंंलाई विश्वास गर्ने आधार के–के छन् ?

विगत पाँच वर्षमा जनकीवासीले जुन दुुःख पाएका छन् । त्यसबाट मुक्ति दिलाउने कांग्रेस पाटी नै हो । हामीले जित्नु भनेको जानकीवासीले जित्नु हो । यस अर्थमा चुनाव जितेपछि हाम्रो पहिलो काम जानकी गाउँपालिकामा रहेका गरिव परिवारका लागि काम गर्नु हो । किसान दाजुभाईहरुको लागि काम गर्नु हो । शिक्षामा पालिकाका सबै बालबालिको पहुँच पुर्याउनु हो । अहिले पालिकामा कतै पनि राम्रो बाटो बन्न सकेको छैन । सबैतिर वर्षामा पानी जम्ने र हिलो मात्र हुन्छ । जनताको हरेक घर–घरमा बाटो पुर्याउनुछ ।

तपाईंंप्रति मतदाताको अपेक्षा के देख्नुहुन्छ ?

विगत पाँच वर्षदेखि म बाहिर बसेर काम गरिरहेको छु । जनताका आवश्यकता मैले बुझेको छु । उहाँहरु मलाई सधैं पालिकाले गरेका कामका बारेमा आफूहरुलाई थाहा नभएको गुनासो गर्नुहुन्छ । सबैभन्दा बढी त राहत वितरणमा भ्रष्टाचार भएका कुराहरु भन्नुहुन्छ । वास्वविक व्यक्तिलाई पालिकाले वास्तै नगरेका कुरा गर्नुहुन्छ । जानकीवासीले मसँग अपेक्षा भन्दा बढी स्थानीय सरकारको गुनासो गर्नुहुन्छ । त्यसैले उहाँहरुका ती सबै समस्याको सम्बोधन गर्न मैले जित्नैपर्ने हुन्छ ।

जित कत्तिको सुनिश्चित छ जस्तो लाग्छ ?

हाम्रो जित त लगभग सुनिश्चित नै भइसकेको छ । अब वैशाख ३० गते त्यसको परिणाम आउने हो । हामी जति घरमा पुगेका छौं । सबैको एउटै आवाज छ, जानकी गाउँपालिकामा यो पटक नेपाली कांग्रेसको जित । र, जानकी गाउँपालिकाको पारदर्शिताको लागि नेपाली कांग्रेसले जित्नै पर्छ । नत्र फेरि जानकीवासीले पाँच वर्ष दुःख पाउछन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:१९