सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहमा निर्वाचन २०७९

एजेण्डासहित उम्मेदवारहरु मतदाताका घरघरमा

घरदैलो अभियानलाई तीव्र पार्दै नेपालगन्जमा गठबन्धनका उम्मेदवारहरु ।

बाँकेमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिबद्धता लिएर मतदाताका घरघरमा पुग्न थालेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै जाँदा मतदाताका घरघरमा पुगिरहेका उम्मेदवारहरुले आफूले गर्ने प्रतिबद्धता र सङ्कल्प सुनाउँदै मत मागिरहेका छन् । घरघरमा प्रचारप्रसार टोलीहरु समूह बनाएर पुग्दा गाउँ सहरमा चुनावी माहोल बढ्दै गएको छ ।

चोक, चौतारी र चिया पसलमा उम्मेदवारहरुबारे छलफल र बहस शुरु भएको छ । बाँकेका ८ वटै स्थानीय तहका उम्मेदवारहरु मतदातालाई फकाउन घरघरमा पुगिरहेका छन् । उम्मेदवारले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तीव्रता दिएका छन् ।

स्थानीय तहको विकास र समृद्धिको मुख्य नारा लिएर दलका उम्मेदवारहरुले मतदातालाई रिझाउने प्रयास गरिरहेको पाइएको छ । उम्मेदवारहरु समूह बनाएर घरघरमा आउन थालेपछि मतदाताहरु पनि उत्साहित भएको नेपालगन्ज–११ का इमरान जरगरले बताए ।

उनले घरघरमा एकपछि अर्को समूह पुगेर मत मागिरहेकोले स्थानीयले सबैका कुरा ध्यानपूर्वक सुनिरहेको बताए । खजुरा गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले यतिबेला गाउँघरमा चुनावी माहोलले उत्साहपूर्ण भइरहेको बताए ।

उनले जनताले एजेण्डा माग्ने, विकासका मोडेल सोध्ने र गरेका काम समेतको लेखाजोखा माग्ने गरेकोले धेरैलाई जवाफ दिन पसिना आउने गरेको बताए । नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले अहिले गाउँ सहर जताततै घरदैलो चलिरहेको जनाउँदै जनताले सबैको कुरा चाख राखेर सुनिरहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनले स्थानीय मुद्दामाथि बहस र छलफलसँगै मुद्दाको पहिचान गराउने काम पनि भइरहेको बताए । जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष एवं नेपालगन्जमा उपमेयरका उम्मेदवार कमरुद्दीन राईले समय कम रहेको र २३ वटै वडामा घरदैलो तथा मतदाता भेटघाट गर्नुपरेकोले एकदिनमा दुई वटा वडामा घरदैलो अभियान चलाइरहेको बताए ।

मतदाताका घरघरमा पुगिरहेका उम्मेदवारहरुले जनताका साना साना समस्यालाई पनि उठाउने गरेको पाइएको छ । गाउँ र टोलबस्तीका समस्यालाई उम्मेदवारहरुले निकै महत्वका साथ व्याखा गरिरहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार ११:५२