सूचनाको शक्ति - The Power Of Information

        

अक्षय तृतीया पर्व

आज अक्षय तृतीया पर्व मनाउँदै, के हो अक्षय तृतीया ?

आज सातु र सर्वत दान गरी मनाइँदै

 प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी मनाइँदैछ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

कोरोनाको जोखिम पूर्णरूपमा अन्त्य नभइसकेकाले सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ ।

त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

के हो अक्षय तृतीया ?

 वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ। यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ।

अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हो। चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो।

यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ। चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ।

भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यको अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ। यो एक स्वयं सिद्ध मुहूर्त हो। लामो समयपछि मंगल रोहिणी योगमा अक्षय तृतीया पर्व परेको संयोग जुरेको हो।

मंगलबार रोहिणी नक्षत्र एकसाथ परेमा कार्य सिद्धि योगको निर्माण हुने हुँदा हरेक प्रकारका कार्य गर्दा शुभ फल प्राप्त हुने शास्त्रीय वचन रहिआएको छ। मंगल रोहिणी योगमा प्रमुख पाँच ग्रह शक्तिशाली अवस्थामा रहेकाले विशेष शुभ मानिएको छ।

शनि ग्रह कुम्भ राशिमा,बृहस्पति मीन राशिमा, चन्द्रमा उच्च बृष राशिमा, शुक्रग्रह उच्च मीन राशिमा र वैशाख महिना भएकाले सूर्य पनि उच्च र पूर्ण बलियो डिग्रीमा रहेकाले राज्य पूर्णरुपमा बलियो अवस्था रहने योग निर्माण छ।

सामान्य दोष यस्ता शुभ योग परेको समयमा स्वझस् परिहार हुने शास्त्रमा उल्लेख गरिएको छ। यस वर्ष राजाका रुपमा शनि र मन्त्रीका रुपमा बृहस्पति ग्रह भएकोले पनि विशेष महत्वका साथ हेरिरहेको छ। यस्तो समयमा राज्यले गर्न लागेका हरेक कार्य सफल भई शुभ फलमा वृद्धि हुने शास्त्रमा उल्लेख छ।

शनि तथा मंगल ग्रहको युक्तिसँगत भएकाले सवारी तथा हवाई दुर्घटना र आगलागीका घटनामा वृद्धि हुने हुँदा सरकार चनाखो भएर बस्नुपर्ने छ।

आजका दिन सातु र सर्वत बनाएर दान गरेमा सम्पूर्ण दोष नाश हुनुका साथै पितृ दोष पनि पूर्णरूपले हट्ने शास्त्रमा उल्लेख गरिएको छ। -सुरेशचन्द्र रिजाल, ज्योतिष तथा वास्तुविद

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार ०८:४४