सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सञ्जालमा चुनावी दुष्प्रचार गरे एक लाख जरिवाना

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय चुनावबारे सामाजिक सञ्जालमा झुट्टा सूचना तथा आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन प्रशारण गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगले आइतबार पत्रकार सम्मेलन गरेर निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोगको ऐन २०७३ को दफा २३ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ अनुसार कारबाही गरिने चेतावनी दिएको छ । आयोगको ऐनको दफा २३ मा आचारसंहिता कार्यान्वयन तथा अनुगमनको व्यवस्था छ ।

आयोगले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिइने सोही दफाको उपदफा २ मा व्यवस्था छ ।

त्यसरी आयोगले दिएको आदेशानुसार काम कारबाही नरोक्ने दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रूपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।

कुनै उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेका कारण निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरले हुन नसक्नेमा आयोग विश्वस्त भएको त्यसको स्पष्ट आधार र कारण खोली त्यस्ता उम्मेदवारको उम्मेदवारी आयोगले रद्द गर्नसक्ने कानूनी व्यवस्था छ ।

तर उम्मेदवारी रद्द गर्नुअघि आयोगले सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका भने दिनुपर्नेछ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा दुष्प्रचार गरेमा कडा कारबाही गरिने चेतावनी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १५:५४