सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचनमा २१ देखि ९४ वर्षसम्मका उम्मेदवार

६० वर्षमुनिका उम्मेदवारहरुले कूल उम्मेदवारीको ९० प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

स्थानीय तह निर्वाचनमा प्रौढ उम्मेदवारहरुको बाहुल्य देखिएको छ । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक आँकडा अनुसार उम्मेदवारहरु २१ वर्षदेखि ९४ वर्ष उमेरसम्मका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार निशा थारु २१ वर्षकी छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी हुन् । यसैगरी मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ का वडा सदस्यका उम्मेदवार सूर्य नारायण मण्डल ९४ वर्षका छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार छन् । ४१ देखि ६० वर्षका उम्मेदवारहरुको संख्या आधा छ । ४० वर्षमुनिका उम्मेदवारहरु ४१ प्रतिशत छ । यसरी हेर्दा ६० वर्षमुनिका उम्मेदवारहरुले कूल उम्मेदवारीको ९० प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

आयोगको विवरण अनुसार, अवकाशपछिको उमेर मानिने ६० देखि ७० वर्षसम्मका उम्मेदवारहरुको संख्या करिव १० हजारको हाराहारीमा छ । ८० वर्षपछिका उम्मेदवारहरुको संख्या निकै नगन्य छ ।

तालिका १ – उमेरलाई २० वर्षको अन्तरमा वर्गीकरण गर्दाको अनुपात

विवरण अनुसार, ३१ देखि ४० वर्षसम्मका युवाहरुको उम्मेदवारी करिव ४३ हजार ४ सय छ । त्यसैगरी ४१ देखि ५० वर्षका उम्मेदवारहरु ४३ हजारको हाराहारीमा छन् । ५० वर्षभन्दा माथिको उमेरमा उम्मेदवारहरुको संख्या घट्दै गएको देखिन्छ ।

तालिका २ – उमेरलाई १० वर्षको अन्तरमा वर्गीकरण गर्दाको अनुपात

निर्वाचन आयोगको विवरण हेर्दा, ३८ देखि ४३ वर्षसम्मका उम्मेदवारहरुको संख्या बढी देखिन्छ । सबै उम्मेदवारहरुको औसत उमेर ४४ वर्ष देखिन्छ ।

३० वर्षसम्मका उम्मेदवारहरुको संख्या नगन्य छ भने त्यसपछि बढ्दै गएको देखिन्छ । ५५ वर्ष पछिका उम्मेदवारहरुको संख्या पनि क्रमिक रुपमा घट्दो देखिन्छ । आँकडा हेर्दा, साना र भर्खरै स्थापित दलहरुले कम उमेरका उम्मेदवारहरुलाई अघि सारेको देखिन्छ ।

तालिका ३ – उमेर अनुसार उम्मेदवारको अनुपात

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १०:३१