सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

नेपालगन्जमा माओवादी र जनमोर्चाको उम्मेदवारी फिर्ता, गठबन्धनमा उत्साह

नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा नेपालले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा नेपालले गठबन्धन उम्मेदवारलाई समर्थन गरेका छन् ।

सत्ता गठबन्धनको उम्मेदवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा नेपालले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

गठबन्धनविरुद्ध नेकपा (माओवादी केन्द्र)बाट टङ्क धामी र राष्ट्रिय जनमोर्चा नेपालका जगदीश ढकालले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने माओवादी केन्द्रबाट उपप्रमुखमा तारा रोकायाले उम्मेदवारी दिएकी थिइन् ।

नेकपा (माओवादी केन्द्र)ले नेपालगन्जमा पत्रकार सम्मेलन गरी केन्द्रको सहमतिअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका प्रशान्त विष्टले माओवादी केन्द्र र जनमोर्चाबाट उम्मेदवारी फिर्तापछि कार्यकर्तामा उत्साह बढेको बताए ।

माओवादी केन्द्र बाँकेका अध्यक्ष डम्बर विक तुफानले नेपालगन्जमा माओवादीलाई अन्याय भएको बताए । उनले अन्याय हुँदाहुँदै पनि गठबन्धनका लागि त्याग गर्नैपर्ने हुँदा साथीहरूलाई सम्झाइबुझाइ गरेर उम्मेदवारी फिर्ता गराइएको बताए । उनले प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाई सहयोग र समर्थन गर्ने र वडाहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०९:२१