सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

डीआइजीबाटै अवकास पाउने विश्वराज वरीयता मिच्दै एआइजीसम्म

पहिले बरियता मिचेर अगाडी बढेकै कारण अघिल्लो ब्याच एसएसपीमै घर जान लाग्दा पोखरेल आइजीपीको नजिक पुगेका हुन् ।

नेपाल प्रहरीमा सबैभन्दा बढी वरीयता मिच्दै अगाडि बढाइएका एआइजी विश्वराज पोखरेल आइजीपीमा नियुक्त नभएपछि सर्वोच्च अदालत जाने भएका छन् । सरकारले आइतबार आइजीपीमा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि रुष्ट बनेका पोखरेल अदालत जाने तयारीमा छन् ।

त्यसविरुद्ध उनले अदालत जाने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ । एआइजीमा आफू अगाडि रहेको भन्दै आफू नै आइजीपी हुनुपर्ने पोखरेलको दाबी छ । पोखरेल २०७७ मंसिर २४ गते एआइजीमा बढुवा भएका थिए । त्यतिबेला पनि वरीयता मिचेर र हुँदै नभएको दरबन्दी थप गरेर पोखरेललाई एआइजी बनाइएको थियो ।

डीआइजीमा बढुवा हुँदा पनि उनले बरियता मिचेका थिए । एसपीबाट एसएसपीमा बढुवा हुँदाबाट उनले बरियता मिच्न थालेका हुन् । २०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई उछिनेका थिए । पोखरेलप्रति प्रहरीभित्र असन्तुष्टि त्यहीँबाट सुरु भएको थियो ।

पोखरेलले त्यतिबेला आइजीपी शैलेश थापा क्षेत्रीको ब्याचलाई पनि त्यतिबेला उछिनेका थिए । एसएसपीबाट अगाडि लागेका पोखरेल डीआइजीमा पनि एकल बढुवा भए । एसएसपीमा उनले आफ्नो ब्याचका सबै र अघिल्लो ब्याचका प्रकाशजंग कार्की, वशन्तकुमार पन्त, सञ्जयराज शर्मा, ईश्वरबाबु कार्की, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण र देवबहादुर बोहरालाई पछि पारेका थिए ।

डीआइजीमा एकल बढुवा हुँदा घनश्याम अर्याल, गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेललाई पनि पछि पारे । २२ महिना पहिले नै अघिल्लो ब्याचलाई छाडेर डीआइजीबाट सिधै आइजीपी बन्न जोड गरेका थिए । तर त्यतिबेला एआइजीमै पछि परेपछि उनी आफ्नो ब्याचबाट आइजीपी हुनेमा ढुक्क थिए ।

पोखरेलका लागि केपी ओली नेतृत्वको सरकारले महानगरीय प्रहरी कार्यालयमा एआइजीको दरबन्दी नै थपिदिएको थियो । त्यसअघिसम्म महानगरीय प्रहरी कार्यालयमा डीआइजीको दरबन्दी थियो । तर, ओली सरकार बहिर्गमनको डिलमा पुगेपछि पोखरेललाई निर्विकल्प आइजीपीको बाटोमा धक्का लाग्यो ।

ओली सरकार ढल्ने बेलामा सहकुल थापालाई २०७८ असार २१ गते एआइजीमा बढुवा गरेको थियो । थापा पनि पोखरेल जस्तै नयाँ दरबन्दी थपेर एआइजीमा बढुवा भएका थिए । उनका लागि कार्य र अपराध अनुसन्धान विभागलाई विभाजन गरिएको थियो । एसएसपी हुँदासम्म ब्याचीभन्दा पनि पछि रहेका थापा पनि डीआइजीबाट आफ्नो ब्याचको दोश्रो नम्बर अथवा पोखरेलपछिको वरियतामा आइपुगेका थिए ।

भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका धिरज भने सत्ता अनुकुल नहुँदा पछाडी पारिँदै गए । तर उनले आफू पछाडी पर्दा र छुट्दा पनि मुद्दा मामिलामा गएनन् । तर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि भने धिरजका दिन फिरेका हुन् । सरकार बनेदेखि नै एआइजीको दरबन्दी थप गरेर आफू बढुवा हुन धिरजप्रतापले जोडबल गरे ।

गत चैतमा सरकारले धिरजप्रतापसहित तीन डीआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यो बढुवासँगै आइजीपीमा टक्कर बढेको थियो । अन्ततः देउवा सरकारले धिरजप्रतापलाई नै आइजीपी नियुक्ति गरेका हुन् । धिरज आइजीपी भएसँगै दुई एआइजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका हुन् ।

सरकारको निर्णयविरुद्ध पोखरेलले अदालत जाने तयारी गरे पनि थापा भने अदालत जाने निश्चित भइसकेको छैन । उनले परामर्श गरिरहेको उनी निकट स्रोतले जनाएको छ । अर्का एआइजी रबिन्द्र धानुक भने धिरज आइजीपी भएकोमा सन्तुष्ट देखिएका छन् । सामाजिक सञ्जालमा उनले बधाईसमेत दिइसकेका छन् ।

आइजीपीका चारजनै दाबेदार २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । भर्ना हुँदाकै पहिलो नम्बरमा धिरज थिए । धिरजपछि दिवेश लोहनी, उत्तमराज सुवेदी, वसन्तकुमार लामा थिए । उनीहरुपछि मात्रै पोखरेल थिए । यो बरियता एसएसपीसम्म रहेको थियो । त्यसपछि अनुकुल सत्ता हुँदा विश्वराजले फड्को मारेका थिए ।

लोहनी, सुवेदी र लामा भने अहिले पनि डीआइजी नै छन् । बरियता नमिचेको भए विश्वराज पनि डीआइजी नै हुन्थे । आइजीपी थापाकै ब्याची मध्ये धेरै डीआइजी नै छन् । तर, आफ्नो अनुकुल सत्ता हुँदा बरियता मिचेका पोखरेल अहिले आफैं बरियताको मुद्दा लिएर सर्बोच्च पुग्ने तयारीमा लागेका हुन् ।

पहिले बरियता मिचेर अगाडी बढेकै कारण अघिल्लो ब्याच एसएसपीमै घर जान लाग्दा पोखरेल आइजीपीको नजिक पुगेका हुन् । पहिले आफैं वरियता नमिचेको भए पोखरेल उमेर हदका कारण डीआइजीबाटै घर जानुपर्ने अवस्था थियो । अब पनि उनी सर्वोच्चले आइजीपी बनाउन आदेश नदिए साउन २० गतेपछि उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०८:५८