सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको आईजीपीमा धीरजप्रताप, यस्तो छ कमाण्ड अनुभव

नेपाल प्रहरीको २९ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी अधिकारी हुन् । आईजीपीको प्रतिस्पर्धामा एआईजीत्रय विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्र धानुक पनि थिए । तर, सरकारले सिंहलाई नियुक्त गरेको हो ।

उनीहरू एकै ब्याची हुन् । तर, एआईजी बढुवामा भने फरक–फरक मितिमा बढुवा भएका थिए ।

यस्तो छ सिंहको कमाण्ड अनुभव

२० कात्तिक २०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिएका सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । प्रहरी निरीक्षकबाट नै सिंह आईजीपीको प्रबल दाबेदार मानिएका थिए । उनी एक नम्बरका इन्सपेक्टर हुन् ।

२०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा हुँदा पनि सिंह एक नम्बरमै बढुवा भएका थिए । डीएसपी हुँदा सिंहले गोरखा, दोलखा, नुवाकोट जिल्लाको सफल कमाण्ड सम्हालेका थिए ।

२०६९ सालमा डीएसपीबाट प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि सिंह एक नम्बरमै बढुवा भए । एसपी हुँदा सिंहले दाङ र पर्सा जिल्ला प्रमुख भएर कमाण्ड सम्हालेको अनुभव उनीसँग छ ।

२०७४ मा उनी दाङ प्रहरी प्रमुख हुँदा तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए । उक्त अपहरण एक चर्चित घटना थियो ।

श्रेष्ठको दाङका टीकाराम घर्तीले आफ्नै छोरी प्रयोग गरेर हनी ट्रयाप गरेर अपहरणपछि सल्यानको जंगलमा हत्या गरेका थिए । घटना भएको साढे दुई वर्षपछि २०७६ मा जिल्ला अदातल दाङले घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।

एसएसपी बढुवामा भने सिंहलाई पछि पारियो । उनी दोस्रोमा झरे । एसएसपी हुँदा सिंहले बागमती तालिम केन्द्र र तत्कालीन महानगरीय अपराध महाशाखा हाल उपत्यका अनुसन्धान कार्यालयको प्रमुखको कमाण्ड सम्हाले ।

२०७६ मा डीआईजी भएका सिंहले मधेस प्रदेश प्रहरी प्रमु्ख र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गरेका थिए । एआईजी बढुवा हुँदा पनि उनले सीआईबीकै प्रमुख भएर काम गरेको अनुभव उनीसँँग छ । सिंह व्यवसायिक र अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

उनलाई सरकारले विभिन्न तीन विधाअन्तर्गत विभूषित गरेको छ । आईजीपीको उनको कार्यकाल एक वर्ष रहनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १७:२१