सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सशस्त्र र नेपाल प्रहरीको आइजीपी बनेका राजु र धीरज ?

सरकारले सशस्त्र प्रहरीको आइजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । सशस्त्रको एआइजी रहेका अर्याललाई सरकारले आइजीपी नियुक्त गरेको हो ।

वि.सं. २०३१ मंसिर २३ गते गोलढुंगा गाविस (हाल काठमाडौंको तार्केश्वर नगरपालिका–५) मा जन्मिएका अर्याल ०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए ।

पछि उनी सशस्त्र प्रहरी बलमा गएका थिए । उनी पीएचडी स्कलर समेत हुन् । ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । देश तथा विदेशमा गरी अर्यालले १५ बढी तालिम लिएका छन् ।

सशस्त्र प्रहरीमा उनी व्यावसायिक प्रहरी अधिकृत मानिन्छन् । यसअघि, उनले संगठनका विभिन्न १० स्थानको कमान्ड तथा जिम्मेवारी वहन गरिसकेका छन् । सशस्त्रका आइजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा गएपछि अर्याल नयाँ आइजीपी नियुक्त भएका हुन् ।

यस्तै सरकारले नेपाल प्रहरीको नयाँ आइजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । वि.सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह ०७९ मा आइपुग्दा संगठन प्रमुख अर्थात् आइजीपी बने ।

कर्णाली प्रदेशको दैलेख पुर्ख्यौली घर भएका सिहंले एमए, बीएलसम्मको अध्ययन नेपालगन्जमा गरे । सानैदेखि खेलकुदमा रुचि भएका सिंहले सुरुमा प्रहरीमा प्रवेश गर्ने सोच भने बनाएका थिएनन् ।

आइजीपी सिंह भन्छन्, ‘घर नजिकै नेपालगन्जमा प्रहरीको व्यायामशाला थियो, म सानै थिएँ । म पनि खेल्न जान्थेँ । त्यहाँ जाँदाजाँदै प्रहरी बन्ने रहर लाग्यो । त्यसरी म प्रहरी भएँ ।’ सामान्य परिवारमा जन्मिएका आईजीपी सिंहका एक छोरा र एक छोरी छन् ।

छोरी मेडिकल शिक्षा अध्ययनरत छिन् । सिंहका अनुसार प्रहरी सेवामा भर्ना हुँदा तालिमपछि उनी एक नम्बर भएका थिए । उनले नुवाकोट, गोरखा, दोलखा, पर्सा, दाङ, अपराध महाशाखा, प्रदेश नम्बर–२ र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख भएर काम गरिसकेका छन् ।

आफ्नो नेतृत्वमा प्रहरीलाई अझ बढी व्यावसायिक बनाएर लैजाने उनी बताउँछन् । ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री अनिवार्य अवकासमा गएपछि सिंह नयाँ आइजीपी नियुक्त भएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १६:३४