नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले बाहिर जतिसुकै हुँङ्कार गरेपनि भित्रभित्रै पुरै गलिसकेको टिप्पणी गरेका छन् ।
आइतबार मजदुर दिवसको उपलक्ष्यमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले स्थानीय चुनावमा ओली पराजित भइसकेको समेत दावी गरे ।
स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको पुनले बताए । रोल्पा लगायत अधिकांश क्षेत्रमा ओलीले विप्लवलगायत राप्रपा, सिके राउतजस्ता शक्तिसँग तालमेल गरेको उनले बताए ।
उनले भने, ‘केपी ओली बाहिर जतिसुकै हुँङकार देखाएपनि भित्री रुपमा गल्नुभएको छ । उहाँ भित्री रुपमा पराजित भइसक्नु भएको छ, त्यो व्यवहारबाट पुष्टि हुन्छ ।’
उनले लेनिनको उदाहरण दिँदै भने, ‘मान्छेहरु के भन्छन् त्यो महत्वपूर्ण हुँदैन । मान्छेले के गर्छन् ? त्यसको व्यवहार कस्तो छ ? भन्ने हो । उसले कोसँग संगत गर्छ ? भन्ने हो । मान्छेको बोलीबाट चिन्न सकिँदैन । उसलाई चिन्ने संगतबाट हो ।’
केपी ओलीले गरेका अधिकाश संगतहरु कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग भएको पुनले बताए । उनले भने, ‘आज ओलीजीहरुको चुनावी तालमेल कम्युनिस्टहरुसँग छ ? वामपन्थी र प्रगतिशीलहरुसँग छ । उहाँको तालमेल दक्षिणपन्थी अतिवादीहरुसँग छ ? त्यो उहाँले आफै प्रष्ट पार्नुभएको छ, हामीले भन्दै पर्दैन ।’
स्थानीय चुनावमा केपी ओली पराजित हुनु संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धन बनेको बताउँदै भने, ‘ओली पराजित हुनु नै पुनः वामपन्थी शक्तिहरुको पुनः एकता गर्ने वातावरण बन्नु हो ।’
सत्यपाटी । काठमाडौं ।