सूचनाको शक्ति - The Power Of Information

        

समाचार

धिरजप्रताप बने नेपाल प्रहरीको आइजीपी

सरकारले नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आइजीपी बनाउने निर्णय गरेको हो ।

सिंह २०४९ चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना हुँदा पहिलो नम्बरमा थिए । डीएसपीमा बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै बढुवा भए । तर पछि राजनीतिक प्रभावमा यो ब्याचका कहिले को कहिले को अगाडि पुगे ।

२०६२ जेठ २२ मा डीएसपी भएका सिंह २०६९ माघ ११ गते एसपीमा बढुवा हुँदा दोश्रो नम्बरमा झरेका थिए । त्यतिबेला पहिलो नम्बरमा उत्तमराज सुवेदी थिए । तर यही ब्याचका एसएसपी बढुवामा भने झनै उथलपुथल देखियो ।

सधैँ पाँचौं नम्बरमा रहेका विश्वराज पोख्रेल आफूभन्दा अघिल्लो ब्याचलाई समत उछिन्दै एसएसपीमा बढुवा भए । एक ब्याच अगाडिका शैलेश थापाको ब्याचलाई समेत उछिनेका पोख्रेललाई सरकारले एसएसपीपछि पनि वरियता मिच्दै डीआइजीमा बढुवा गरेको थियो ।

पोख्रेलको अप्रत्यासित छलाङले प्रहरीभित्र ठूलो असन्तुष्टि जन्माएको थियो । उनकै ब्याची र अघिल्लो ब्याची समेत उनीसँग रुष्ट थिए । त्यसपछि पनि सत्ताको आडमा पोख्रेल वरियता मिच्दै अगाडि बढ्ने क्रम रोकिएन ।

एमाले सत्तामा हुँदा शैलेश थापा नभएर आफैँ आइजीपी हुनुपर्छ भनेर लागेका पोख्रेलले एआइजी बढुवामा प्रद्युम्न कार्की र निरज शाहीलाई रोकेर आफ्ना लागि राजनीतिक पावर भिडाए । एमाले सत्तामा हुँदा उनी उपप्रधानमन्त्री ईश्वर पोख्रेलको शक्तिमा अघि बढेका थिए ।

डेढ वर्ष पहिले नै एआइजी भएका पोख्रेल त्यतिबेलासम्म आइजीपी हुनेमा ढुक्क थिए । तर सरकारले सहकुल थापालाई पनि उनलाई जस्तै गरी अगाडि बढाएपछि पोख्रेलको विकल्प तयार भएको थियो । तर देउवाको नेतृत्वमा सरकार बनेसँगै प्रहरी नेतृत्वमा पुग्ने उनको सपना दूर बन्दै गयो ।

अन्ततः पहिलो नम्बरमा भर्ती भएका सिंह नै आइजीपीमा नियुक्त भए । आइजीपीका लागि सिंहकै ब्याचका विश्वराज पोख्रेल सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १५:२४