सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनले नछोएको मगन्ता समुदायलाई छाक टार्नकै चिन्ता

फाइल तस्वीर

बाँके जिल्लाका अधिकांश वडामा स्थानीय तहको निर्वाचनको रौनक बढ्दै गए पनि नेपालगन्ज उपमहानगरसँगै जोडिएको डुडुवा गाउँपालिका–६, हिरमिनियामा बसोबास गर्दै आएका मगन्ता समुदायलाई भने निर्वाचनले छोएको छैन ।

निर्वाचनभन्दा पनि कसरी साँझ–बिहानको छाकको जोहो गर्ने भन्ने चिन्ताले मगन्ता समुदायलाई पिरोलिरहेको सो समुदायका अगुवा रमेश मगन्ताले बताए । उनले दिनभर माग्न नजाने हो भने बेलुका के खाने र बालबालिकालाई के खुवाउने भन्ने चिन्ताले निर्वाचन आएको थाहै नपाएको बताए ।

मगन्ता समुदायका अर्का अगुवा शोभाराम मगन्ताले आफूहरूको पेसा नै दिनभर मागेर गुजारा टारेको जनाउँदै सोही पेसाकै आधारमा थरसमेत ‘मगन्ता’ भएको बताए । उनले कहिलेकाहीँ केही मानिस भोट माग्न आफ्नो बस्तीमा आउने गरेको जनाउँदै तर उनीहरूका कुरा सुन्ने फुर्सद कसैलाई नहुँदा त्यसै फर्किने गरेको पनि बताए ।

आफ्नो र परिवारको पेट कसरी भर्ने भन्ने चिन्ता लिएर घरघर माग्न जानुपर्ने बाध्यताले निर्वाचन वा अन्य कुनै चाडपर्वले समेत महत्व नपाएको शोभारामको भनाइ छ । अर्का मगन्ता दीपकले यसअघि केही वर्ष पहिले केही मानिस भोट माग्न आएका र मगन्तालाई यो गर्छु, त्यो गर्छु भने र गएकामा हालसम्म फर्किएर मुख नदेखाएको दुःखेसो गरे ।

उनले निर्वाचन लड्नेलाई बाहेक यहाँ धेरैलाई निर्वाचनबारे खासै चासो नरहेको देखिएको पनि बताए । दीपकका अनुसार राजनीतिमा चासो नराख्ने मगन्ता समुदायलाई निर्वाचन आएका बेला नेताहरू भने विभिन्न आश्वासन दिन पुग्छन् तर पछि कोही पनि फर्केर हेर्नसमेत आउँदैनन् ।

बाँकेको हिरमिनियामा ६० र आसपासका अन्य स्थानमा गरी करिब ३५० परिवार मगन्ता समुदायको बसोबास छ । बर्दियामा ३०० को हाराहारीमा मगन्ता छन् । बाँके र बर्दिया दुई जिल्लामा गरी करिब तीन हजार उनीहरूको जनसङ्ख्या रहेको छ । तैपनि मगन्ताहरूले अझै आफ्नो परम्परागत पेसाकै रूपमा अपनाउँदै आएको माग्ने कार्यलाई छोड्न सकेका छैनन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार ०८:०५