सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

६ वटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

यसैबीच, निर्वाचन आयोगले ४९ जिल्लामा मतपत्र ढुवानी गरेको छ । सडक तथा हवाईमार्गमार्फत् ४९ जिल्लामा मतपत्र ढुवानी गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थानमा मतपत्र ढुवानी भइसकेको छ ।

बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको आयोगले जनाएको छ । आज आइतबार लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण बिभागले जनाएको छ ।

काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्ने क्रम जारी छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार ०७:४९