नेपाली काँग्रेस कोहलपुरले आजदेखि चुनावी घरदैलो शुरु गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडीस्थित शहिद परिवारको घरबाट घरदैलो अभियान सुरु गरिएको हो ।
शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाध्यक्ष पदका उम्मेदवार वीरेन्द्रबहादुर शाह लगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिएका थिए ।
सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिएका थिए । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गरेका थिए ।
स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मतदिने विश्वास दिलाएका थिए । उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजनासहित अगाडि बढ्ने र युवा पुस्तालाई मतदिने विश्वास दिलाए ।
घरदैलो अभियानमा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वली लगायत सहभागी भएका थिए । कोहलपुर नगरपालिकाका १५ वटै वडामा आजदेखि औपचारिकरुपमा घरदैलो अभियान सुरु भएको हो ।
सत्यपाटी । बाँके ।