व्यापक जनलहरसहित बढैयाताल गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रचारलाई ‘आक्रामक’ बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँएसँगै बढैयातालका सबै वडामा एमालेका उम्मेदवारहरु ‘आक्रामक’ प्रचारसहित घरदैलो अभिायनमा निस्किएका छन् ।
एमालेले लालबहादुर श्रेष्ठलाई अध्यक्ष र लक्ष्मी अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । बढैयाताल गाउँपालिकाको समग्र विकासका योजनाकार र विकासप्रेमी नेता भएकै कारण श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ भने लामो समयदेखि महिला आन्दोलनमा सक्रिय लक्ष्मी अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
विकासप्रेमी नेता भएकै कारण बढैयाताल गाउँपालिकामा एमाले उम्मेदवारको विकल्प नभएको स्थानीय मतदाताहरु बताउँछन् । गाउँपालिकाको अधिकांश वडामा एमालेले बलिया र विकासप्रमी युवाहरुलाई उम्मेदवार बनाएको छ । एमालेले बढैयाताल–४ बाट वडाध्यक्षका रुपमा विकासप्रेमी युवा नरबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

बढैयातालमा एमाले उम्मेदवारहरु गत पाँच बर्षमा गाउँपालिकामा गरेका समग्र कामहरुको समिक्षासहित प्रचार अभियानलाई तीव्र र आक्रामक बनाउँदै घरदैलो अभियान चलाइरहेका छन् । घरदैलो कार्यक्रममा अध्यक्षका उम्मेदवार श्रेष्ठले केही योजनाहरु अधुरै रहेकाले ती योजनाहरुलाई सम्पन्न गरेर बढैयाताललाई नमुना गाउँपालिका बनाउन पुनः उम्मेदवारी दिएको बताए ।
उनले समृद्ध गाउँपालिका बनाउनकै लागि एमालेसँग धेरै योजना रहेकोले एमालेलाई सुर्य चिन्हमा मतदान गरि बढैयातालका जनताले चाहेजस्तो समृद्धिको सपना पुरा हुने बताए । बढैयातालमा एमाले उम्मेदवारहरू आफ्ना पार्टीका एजेण्डासँगै गाउँठाउँ अनुसारका समस्याहरूको समाधानका लागि विश्वास दिलाउँदै प्रचारप्रसार गरिरहेका छन् ।
एमालेकै तर्फबाट बढैयाताल गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार लक्ष्मी अधिकारीले पछिल्ला दिनहरुमा एमालेप्रति जनताको विश्वास ह्वात्तै बढेकोले बढैयाताल गाउँपालिकालाई विगतमा भन्दा अझै उत्कृष्ट र नमूना पालिकाका रुपमा विकास गर्न आफुहरु प्रतिवद्ध रहेकाले मतदाताहरुसँग सुर्य चिह्नमै मतदान गर्न आह्वान गरेकी छन् ।

‘हामीहरु तालिका बनै बनाएर घरदैलोमा निस्किरहेका छौं,’ बढैयाताल–४ का वडाध्यक्षका उम्मेदवार नरबहादुर थापाले भने, ‘वडाभित्रका सबै टोलटोलमा घरदैलो कार्यक्रम गरिरहेका छौं । हलिे हाम्रो वडा मात्रै नभएर पालिकानै एमालेमय भएको छ ।’ चुनावी प्रचारप्रसारका कामहरु युद्धस्तरमा भइरहेको थापाको भनाई छ ।
वडाध्यक्षका उम्मेदवार थापाले आफ्नो जित सुनिश्चित भएको दावी गरे । उनले आफू निर्वाचित भएपछि वडाध्यक्षको रुपमा पाउने सरकारी सेवा सुविधालाई वडाबासीको शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि लगायतका सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘चुनाव जितेपछि वडापालिकाबाट सञ्चालन हुने आयोजना सुरु गर्नुअघि र सम्पन्न भएपछि सार्वजनीक सुनुवाई गर्नेछौं ।’





सत्यपाटी । बर्दिया ।