सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

नेपालगन्जमा एमालेबाट वडाध्यक्ष लडेका उम्मेदवारको मनोनयन रद्द

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं. ७ की सञ्जु बंशाकारको मनोनयन पनि रद्द भएको छ ।

स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार अजयकुमार पाठकको मनोनयन रद्द भएको छ ।

मनोनयन हुनुअघि मात्रै नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेर एमालेबाट टिकट पाएका पाठकको मनोनयन रद्द भएको हो ।

२०७४ को निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका अजयकुमार पाठक टिकट पाउनकै लागि एमाले प्रवेश गरेका थिए ।

बैंकले कालोसूचीमा राखेकाले पाठकको मनोनयन रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए ।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिका दुई जना वडा सदस्यको पनि मनोनयन रद्द भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं. ७ की सञ्जु बंशाकारको मनोनयन पनि रद्द भएको हो ।

उनीहरु दुवै जना उम्मेदवारको दलित भन्ने निस्शा नभएको कारण मनोनयन रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १२:४२