सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा विस्फोट हुँदा ९ जनाको मृत्यु, १३ घाइते

 उत्तरी अफगानिस्तानमा भएका विस्फोटमा परेर ९ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा १३ जना घाइते भएका छन् । बल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा दुई छुट्टाछुट्टै गाडीलाई लक्षित गरी विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।

प्रहरी प्रमुखका प्रवक्ता मोहम्मद आसिफ वाजिरिले रमजानको उपवास तोड्ने क्रममा घर फर्किएका सर्वसाधारलाई लक्षित गरी विस्फोट गराइएको बताएका छन् ।

विस्फोटको जिम्मा हालसम्म कसैले पनि लिएका छैन । पछिल्लो समय सो क्षेत्रमा सरकारी अधिकारीहरुले सुरक्षा व्यवस्था कडा पारेको दावी गरेपनि शिया अल्पसंख्यक हजारा जातीय समुदायका सर्वसाधारण आक्रमणकारीको निशानामा पर्दै आएका छन् ।

केही दिनअघि पनि सोही क्षेत्रको मजार–इ–शरीफको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएकोथियो ।

यस्तै गतहप्ता पनि कुन्दुज शहरको अर्को मस्जिदमा विस्फोट हुँदा अल्पसंख्यक सुफी समुदायका ३६ जनाको मृत्यु भएको थियो ।

सुन्नी बहुल अफगगानिस्तानमा आईएसआईएलको क्षेत्रीय शाखाले बारम्बार शिया र सुफीलगायतक अल्पसंख्यक समुदायलाई निशाना बनाउँदै आएको छ ।

अफगानिस्तानको जनसंख्यामध्ये करिब २० प्रतिशत अल्पसंख्यक समुदाय रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०९:३७