गाउँघरमा चुनावी माहोल निकै रापिलो र तापिलो बन्दै गएको छ । अहिले सामूहिक कुराकानीमा चुनावी चर्चा र परिचर्चा भइरहन्छ । गाउँगाउँमा आएको सिंहदरबारको पहिलो सरकारमा रहेर काम गरेका जनप्रतिनिधिहरू तथा उनीहरूले प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको काम र कार्यशैली जाँच्ने अवसरका रूपमा निर्वाचनलाई लिइएको छ ।
पाँचवर्षे कार्यकाल पूरा गर्दै गरेका जनप्रतिनिधिहरू र उनीहरूसँग सम्बन्धित राजनीतिक दलहरूले यो कार्यकालमा आफूले गरेका कामहरूको कसरी प्याकेजिङ गर्छन् र आफ्ना मतदातासम्म पुर्याउँछन्, त्यसले पनि निर्वाचनमा प्रशस्त प्रभाव पार्न सक्छ । मतदान गर्न अब दुई सातामात्रै बाँकी छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा स्थानीयस्तरमा रहेका राजनीतिक दलले पनि आफ्ना गतिविधि बढाएका छन् । स्थानीयस्तरमा राजनीतिक दलहरु उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् । साथै राजनीतिक दलले मतदातालाई प्रभावित पार्न विभिन्न राजनीतिक कार्यक्रमसमेत गर्न थालेका छन् ।
खजुरा गाउँपालिका–७ काम अनिश खाँ जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिँड्नसक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्ने बताउँछन् । ‘नेतृत्व शिक्षित हुनुपर्छ, शिक्षितसँगै युवा, महिला, बालबालिकाका भावना बुझ्ने, हामीलाई नगर विकासमा सहभागी गराउनसक्ने योजना भएको नेता चुन्ने योजनामा छौँ,’ उनी भन्छन् ।
पालिकाको समग्र विकास गर्न सक्ने उम्मेदवारलाई जिताउनुपर्ने उनी बताउँछन् । खाँ भन्छन्, ‘निर्वाचनमा उम्मेदवार धेरै हुन्छन् । यसपटक हाम्रो वडाको विकासका लागि समय दिनसक्ने, सबैको हितमा काम गर्न सक्नेलाई जिताउनुपर्छ भनी हामी सचेत छौँ ।’ खजुरा–७ कै उमेश धोवी नेता व्यक्तिगत स्वार्थ त्यागेको विकासप्रेमी हुनुपर्ने बताउँछन् ।
उनले खुलेरै भने, ‘नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई भोट दिने हो ? एकीकृत समाजवादीले विकासप्रेमीसँगै नागरिकको भावना सम्बोधन गर्नसक्ने, सबैलाई मिलाएर लैजाने खालको नेतालाई उम्मेदवार बनाएको छ । हाम्रो मत उहाँलाई नै जान्छ ।’ नेता नागरिकका सबैखाले अपेक्षा पूरा गर्नसक्ने क्षमताको होस् भन्ने चाहना राख्छन् खजुरा–७ कै छवीलाल कुर्मी ।

उनलाई अब आउने नेतृत्व लैङ्गिक संवेदनशीलता बुझेको र काम गर्ने जोश जाँगर भएको व्यक्ति होस् भन्ने लाग्छ । ‘एकीकृत समाजवादीको नेतृव्यको गठबन्धनमा विकासप्रेमी र समाजमा केही गर्न सक्ने व्यक्तिहरु उम्मेदवार बन्नुभएको छ । हामी उहाँहरुलाई नै मत दिन्छौं ।’ नागरिकका असीमित चाहनालाई क्रमशः पूरा गर्नु नेतृत्वको दायित्व भएकाले नेतृत्व छान्दा चुक्न नहुनेमा सचेत छिन् खजुरा–८ की जाहिदा खातुन ।
‘कुरा मात्र गर्नेभन्दा नागरिकका आधारभूत समस्या र माग पूरा गर्नसक्ने नेता हामीले छान्नुपर्छ,’ उनी भन्छिन्, ‘हाम्रो वडासँगै समग्र पालिकाको विकास गर्न सक्ने व्यक्ति चुन्नुपर्छ । नेतृत्व छान्दा गल्ती भएमा पछुताउनुभन्दा अहिले नै राम्रो नेतृत्व छान्नुपर्छ ।’ खजुरा गाउँपालिका–८ कै तसलीला खाँ पनि विकास गर्न सक्ने र हाम्रो नभई राम्रो क्षमता भएको नेतृत्व आवश्यक रहेको बताउँछिन् ।
‘सक्षम मानिस छोडेर आफ्नालाई जिताउँदा पछुताउनुबाहेक केही हात लाग्दैन,’ उनी भन्छिन्, ‘पालिकाको नेतृत्वमा जाने सबैको अभिभावक हो । सबैको अभिभावक असल, क्षमतावान्, कुशल हुनुपर्छ । अहिले खजुरामा नेकपा एकीकृत समाजवादीको विकल्प छैन ।’ गएका पाँच बर्षमा एमाले नेतृत्वका जनप्रतिनिधिले ‘गफ’बाहेक जनताका लागि केही दिन नसकेको खजुरा गाउँपालिकाका मतदाताहरु बताउँछन् ।
किक्ष्मतकुमार कक्षपतिको नेतृत्व स्मार्ट सिटी, ग्रीन सिटी भन्दै ‘गफ’मै हराएको, आफू अनुकुलका योजनाहरु बनाएर स्वार्थ केन्द्रीत बनेकाले खजुरामा एमालेको विकल्प खोज्नुपर्ने खजुरा गाउँपालिका–४ का एक मतदाताले नाम उल्लेख नगर्ने शर्तमा सत्पाटीलाई भने, ‘यहाँका जनप्रतिनिधिको ध्यान सरिया, सिमेन्ट, डोजर र रोलरतिरै थियो, अब पनि एमालेलाई जिताउँदा पाँच बर्ष पछुताउनुभन्दा फरक पार्टीलाई जिताउनुपर्छ ।’
उनले भने अनुसार नै गत पाँच बर्षको अवधिमा खजुराका जनप्रतिनिधिहरु जनजीविकाका सवालहरूभन्दा पनि गगनचुम्बी भवन बनाउन प्रेरित भए । सरिया र सिमेन्ट बेच्न र डोजर चलाउनतिरै केन्दीत भए । उत्पादनमा लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, कृषियोग्य बाँझो जमिनको उचित प्रयोग गर्ने, नगदेबालीमा किसानलाई प्रेरित गर्ने, उत्पादनको बजारीकरण गर्नेतर्फ आवश्यकता अनुसारको ध्यान पुर्याउन सकेनन् ।
गएका पाँच बर्षमा खजुराबासीले जिताएका जनप्रतिनिधिहरु नागरिकलाई उत्पादनमा जोड्ने लयभन्दा आफ्नो व्यापार व्यवसायलाई बढावा दिँदै कमाउने ध्याउन्नमा लागेपछि रोजगारी सिर्जना र दिगो उद्यमशीलताका कामहरु उनीहरुका योजनामै परेनन् । कृषि, स्थानीय उत्पादन र बजारीकरणको व्यावहारिक योजना र त्यसको प्रभावकारी कार्यान्वयन गर्न चुकेकाले अब खजुरामा एमाले विकल्पका रुपमा नयाँ शक्तिका रुपमा उदाएको नेकपा एकीकृत समाजवादीको विकल्प नभएको मतदाताहरु बताउँछन् ।
सत्यपाटी । बाँके ।