सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

वडाध्यक्षमा फेरि किन दोहोरिँदैछन् जनक र रामलखन ?

स्थानीय तहको निर्वाचन नजिकिएसँगै वडाध्यक्षका दुवै उम्मेदवार विशेष चुनावी अभियानसहित घरदैलोमा व्यस्त छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ बाट निर्वाचित वडाध्यक्ष जनकबहादुर थारु र वडा नं. ७ बाट निर्वाचित रामलखन थारु यस पटक पुनः सोही वडाबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

नेकपा माओवादी केन्द्रले जनक र रामलखनलाई पुनः वडाध्यक्षको टिकट दिएर उम्मेदवार बनाएको हो । दुवै जना राजनीतिसँगै विकासप्रेमी, समाजप्रति कटिबद्ध, लगनशील र इमान्दार व्यक्ति भएकाले पुनः उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिकाका सचिव सूर्यप्रकाश घर्तीले जानकारी दिए ।

उनले भने, ‘उहाँहरु दुवैजना विकासप्रेमी युवा भएकाले पुनः उम्मेदवार गराइएको छ । दुवै जना निर्वाचित होउन् भन्ने मतदाताको अपेक्षा पनि छ । स्थानीय तहमा निर्वाचित हुने प्रतिनिधिले समाज विकासमा सबै भूमिका खेल्नुपर्ने भएकाले योग्य व्यक्ति चुनिनुपर्छ भन्ने मतदाताको अपेक्षा अनुसार जनक र रामलखनलाई उम्मेदवार बनाएको उनले बताए ।

सचिव घर्तीले भने, ‘त्यसैले उहाँहरु सक्षम, ईमान्दार र विकासप्रेमी भएकाले पनि जीत निश्चित छ ।’ मतदाताहरुले सक्षम व्यक्तिलाई मतदान गर्ने र त्यसले विकास निर्माणमा महत्वपूर्ण भूमिका रहोस् भन्ने सचिव घर्तीको विश्वास छ । उनीहरु अघिल्लो निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्न सफल भएको मतदाताहरु नै बताउँछन् ।

‘उहाँहरुले राम्रो काम गर्नुभएको छ, यसपटक पनि उहाँहरुलाई नै जिताउनुपर्छ । मर्दाको मलामी र जिउँदाको जन्ती भनेजस्तै वडाबासीको सुखदुखमा उहाँहरु सधैं साथ दिनुहुन्छ,’ मतदाताहरु भन्छन्, ‘सुखदुखमा साथ दिनेलाई नै हामी भोट हाल्छौं नि ? जनक र रामलखन जस्तो सुखदुखमा साथ दिने उम्मेदवार अरु छैनन् । हामी उहाँहरुलाई नै भोट दिन्छौं ।’

वडाभित्रका टोलमा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण जस्ता आधारभूत आवश्यकतालाई पुरा गर्दै वडाबासीको मन जित्न सफल भएका जनक र रामलखनले बाँकी रहेका कामहरु पुरा गर्नका लागि पनि आफूहरुले जित्नै पर्ने दावी गर्छन् । स्थानीय क्षेत्रको विकास र समृद्धिका लागि आफूहरु सधैं प्रतिवद्ध रहेको उनीहरुको भनाई छ ।

‘अघिल्लो निर्वाचनमा भएका कामहरुको समिक्षा गर्दै बाँकी रहेका अधुरा कामहरुलाई सम्पन्न गर्नका लागि पार्टीले आफूहरुलाई पुनः उम्मेद्वार बनाएकाले पार्टीप्रतिको विश्वास र जनताको भरोसालाई आत्मसाथ गर्दै अघि बढ्नेछौं,’ जनक र रामलखनले भने । स्थानीय माग, विकास र सरोकारका विषय चासो राख्ने जनक र रामलखनजस्ता सक्षम र कर्मठ नेतृत्व चयनका लागि स्थानीयहरु एकजुट हुनुपर्ने मतदाताहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै वडाध्यक्षका दुवै उम्मेदवार विशेष चुनावी अभियानसहित घरदैलोमा व्यस्त छन् । उनीहरुलाई स्थानीय मतदाताहरुले टोलटोलमा स्वागत गरिरहेका छन् । जनक र रामलखन पुनः वडाध्यक्ष पदको उम्मेदवार बनेसँगै ती वडामा चुनावी माहोल पनि तातिएको छ । वडाध्यक्ष हुँदा विकासको सम्वाहकको रुपमा चिनिएका जनक र रामलखन बाँकी रहेका अधुरा काम पुरा गर्ने बाचासहित पुनः जनताका घरदैलोमा पुगिरहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०८:०७