सूचनाको शक्ति - The Power Of Information

        

सरकारी बेवास्ता

यातनागृह बन्यो बाल सुधारगृह

आधाभन्दा बढी रोगीसहित एउटै कोठामा ८३ बालक कोचाकोच 

देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित बाँकेमा अहिले तातो हावा ‘लु’ र प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त छ ।

यस्तो प्रचण्ड गर्मीको बेला बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका लागि सञ्चालनमा ल्याइएको बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह यातनागृहमा परिणत भएको छ ।

अत्यधिक गर्मीमा क्षमता भन्दा करिब तेब्बर बालकहरु सो बालसुधार गृहमा कोचाकोच गरेर राखिएकाले उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । सो बालसुधार गृहमा प्रचण्ड गर्मीको समयमा पनि एकै कोठामा ७३ देखि ८३ जनासम्म बालकलाई कोचाकोच राखिएको छ ।

बाँकी रहेका बालकहरु साना कोठामा र केही शौचालय अगाडिको भागमा सुत्ने गरेको बालसुधार गृहकी इन्चार्ज विमला काउचा मगरले बताइन् । उनले ७० जनाको क्षमता भएको सो बालसुधार गृहमा अहिले १८३ जना बालक रहेको बताइन् ।

‘ठूलो समस्या भनेकै क्षमताभन्दा बढी बालक हुनु हो,’ काउचा मगरले भनिन्, ‘सीमित कोठामा धेरै बालक राख्नुपर्दा व्यवस्थापन गर्न निकै समस्या छ ।’ अत्यधिक गर्मीको बेला पनि बालसुधार गृहमा क्षमताभन्दा तेब्बरजति बालक राख्दा बसाइ साह्रै कष्टकर देखिएको एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतमले बताए ।

‘एउटै कोठामा धेरैजना बस्दा बालसुधार गृहमा छालासम्बन्धी रोगको संक्रमण फैलिएको छ,’ उनले भने, ‘सुधारगृहका ५० भन्दा बढी बालकमा यस्तो सङ्क्रमण पुष्टि भएको छ ।’ सुधारगृहमा रहेका १८३ बालकका लागि चार वटा मात्र शौचालय छन् ।

बिहानमा पालो पर्खेर शौच जानुपर्ने बाध्यताले धेरै कष्ट उठाउनुपरेको छ । त्यहाँ ढलको व्यवस्थापन हुन नसक्दा भान्सा पछाडि ढलको पानी गन्हाउने, अत्यधिक लामखुट्टे लाग्ने गर्दा सुधारगृह यातना गृह बनेको बालकहरुले नै बताएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०७:०२