स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरू घरदैलो अभियानमा जुटेका छन् । स्थानीय समस्यालाई चुनावी मुद्दा बनाएर दलहरू गाउँ पुगेसँगै चुनाव चिह्नले घरहरू सजिएका छन् । तराई मधेस र चुरे भावर क्षेत्रमा गर्मीको तापक्रम बढ्दो छ ।
गर्मीको पर्वाह नगरी राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताहरू मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचनको माहोल सिर्जना गरिरहेका छन् । दलहरूले मतदाता शिक्षाका साथै मतदानका लागि नागरिकलाई उत्साहित पारिरहेका छन् ।
मतदताहरूले पनि उम्मेदवारसँग चुनावी मुद्दा र विकासका योजनाबारे सोधखोज गरिरहेका छन् । चुनावी गठबन्धनमा रहेका दलहरू सामूहिकरूपमा चुनावी अभियानमा छन् । त्यस्तै एक्लाएक्लै निर्वाचनमा सहभागी दलहरूसमेत उम्मेदवारसहित कार्यकर्ताहरू चुनावी अभियानमा छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले निर्वाचन अभियानका क्रममा दैनिक एक हजार जनासँग प्रत्यक्ष भेटघाट गरिरहेको बताए । घरदैलोका क्रममा जनतामा जाँदा दिगो विकास निर्माणका काममा मतदाताले जिज्ञासा राख्ने गरेको उम्मेदवार विष्टले बताए ।
यस्तै नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार खिलप्रसाद भुसालले दैनिक पाँचवटा कोण सभामा सहभागी हुँदै टोलटोलमा गएर मतदातासँग भेटघाट गरिरहेको बताए । निर्वाचनप्रति मतदाताहरू उत्साहित पाएको र कोहलपुरको विकासको ‘मोडालिटी’ परिवर्तन गर्नुपर्यो भन्ने माग राखेको उनी बताउँछन् ।
यसै गरी नेपालगन्ज उपमहानरपालिकाको उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार कमरुद्दिन राईले बिहान ६ बजे देखि घरदैलोमा हिँड्ने गरेको बताए । मतदाताले गुणस्तरीय र टिकाउ खालको विकासको माग राखिरहेको उम्मेदवार राईले बताए ।
बाँके जिल्लामा निर्वाचनको खास माहोल नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय हासिल गरेको थियो । कोहलपुर नगरपालिकामा एमालेले विजय हासिल गरेको थियो ।
बाँकेमा उपमहानगर र नगरपालिका एक–एक वटा छन् । त्यही भएर पनि यी पालिकाको निर्वाचनप्रति राजनीतिक दलहरूको चासो र चिन्ता बढी छ । यस्तै बाँकेका अन्य ६ गाउँपालिकाहरू राप्तीसोनारी, नरैनापुर, डुडुवा, जानकी, वैजनाथ र खजुरामा पनि चुनावी माहोल छ ।
सो गाउँपालिकाको अध्यक्षमा नयाँ अनुहार प्रतिस्पर्धामा रहेकाले पनि निर्वाचनप्रति मतदाता निकै उत्साहित छन् । गाउँ–सहरका चोक र चिया पसलमा राजनीतिक चर्चा र बहस चलिरहेका छन् । अघिल्लो पटक निर्वाचित जनप्रतिनिधि र राजनीतिक दलको काम हेरिसकेका मतदाताहरू रुचिपूर्वक वैशाख ३० गतेलाई पर्खिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१० का भद्रबहादुर थापाले मतदातामा निर्वाचन सम्बन्धी सचेतना निकै बढेको अनुभव व्यक्त गरे । ‘चुनावी माहोल तातेको छ । मतदातामा उत्साहसँगै उम्मेदवारलाई विकासको मुद्दा सोध्न थालेका छन् । निर्वाचनमा उम्मेदवारका रूपमा नयाँ अनुहार आएकाले विकासका केही नयाँ आशा थपेको छ,’ उनले भने ।
चार पालिकामा महिलालाई प्राथमिकता बाँकेका आठ पालिकामध्ये चार पालिकाको प्रमुख पदमा महिलाले उम्मेदवारी दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिकामा गरेर आठ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
कोहलपुर नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णकली थापाले उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मीकुमारी हमाल र स्वतन्त्रबाट नन्दा डाँगीले प्रमुख पदमा उम्मेदवारी दिएकी छन् । त्यस्तै नेकपा (माओवादी समाजवादी) बाट रन्जिताकुमारी चौधरीको उम्मेदवारी परेको छ ।
यसैगरी बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेबाट सरोजकुमारी यादवले उम्मेदवारी दिएकी छन् । भने स्वतन्त्रबाट प्रेमाकुमारी चौधरी उम्मेदवार छन् । नेकपा एमालेकै तर्फबाट नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा पद्मावती यादवनीले उम्मेदवारी दिएकी छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा एक जना महिलाको मात्र उम्मे दवारी परेको छ । नेकपा (माओवादी समाजवादी)बाट अनिता वैश्यले प्रमुख पदका लागि उम्मेदवारी दिएकी छन् । उम्मेदवार लक्ष्मीकुमारी हमालले सुरुमा दलले उम्मेदवारी दिन आनाकानी गरे पनि पार्टीमा एजेण्डा प्रस्तुत गरेपछि त्यसलाई मन पराएर पार्टीले टिकट दिएको बताइन् ।
उनले भ्रष्टाचार उन्मूलन, हिन्दु राष्ट्र र जनताको जीवनमा समृद्धि ल्याउने योजनालाई चुनावी एजेन्डा बनाएकी छन् । राप्रपा नेपालका बाँके अध्यक्ष दीपेन्द्रबहादुर सिंहले विकासमा महिला बढी खटिने भएकाले समग्र महिलाको नेतृत्वका लागि प्रमुख पदमा महिला उम्मेदवारी दिएको बताए ।
यस्तै नेकपा (माओवादी–समाजवादी) बाँकेका अध्यक्ष नारायणप्रसाद लम्सालले महिला अधिकारलाई भाषणमा मात्र होइन व्यवहारमा उतार्न र महिलाले जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्ने भएकाले समेत महिलालाई प्रमुख पदमा उम्मेदवार बनाइएको बताए ।
–गोरखापत्रबाट
सत्यपाटी । बाँके ।