सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै अब वर्षको ३६५ दिनमध्ये करिब २१० दिन मात्रै सरकारी कार्यालय खुल्ने भएको छन् । वर्षमा करिब ५२ दिन हुँदै आएको साप्ताहिक बिदा अब करिब १०४ दिन पुग्नेछ ।
त्यसबाहेक सरकारले दिने विभिन्न धर्म, समुदाय, क्षेत्रमा दिने सार्वजनिक बिदासमेत जोड्दा करिब १५६ भन्दा बढी दिन सरकारी सेवा बन्द हुने अवस्था आएको छ ।
सरकारले कार्य घण्टा बढाएर क्षतिपूर्ति गर्न खोजेपनि पनि कार्यालय बन्द हुने दिन ठूलो मात्रामा बढेको छ । संघीय सरकारले देशभर सबैलाई लागू हुने गरी घोषणा गरेको विदाको संख्या मात्रै ३३ छ ।
सरकारले प्रकाशित गरेको राजपत्र अनुसार २०७९ मा मुलकुभरि १५ दिन पर्व बिदा तोकेको छ । यसमाथि दशैंका लागि ६ दिन र तिहारका लागि ५ दिन विदा दिइएको छ ।
विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र महिला दिवस गरी पाँच कार्य दिनमा पनि सबैतिर विदा हुन्छ । बुद्ध जयन्तीमा पनि सबैका लागि सार्वजनिक विदा हुन्छ ।
राष्ट्रिय एकता दिवसमा कतिपय सरकारले सार्वजनिक विदा समेत घोषणा गर्ने गरेको छ । विदा नदिइएपनि निजामती दिवस, सहीद दिवस र राष्ट्रिय छुवाछुतविरुद्धको दिवस पनि देशव्यापी रुपमा मनाइने गरी तोकिएको छ ।
धर्म, समुदाय र ठाउँ विशेष पनि ठूलो संख्यामा विदा दिइन्छ । प्रदेश सरकारहरुले सम्बन्धित प्रदेशमा दिनसक्ने ६ दिनको विदालाई जोड्ने हो भने वर्षमा त्यस्तो विदा १९ वटा पुग्छ ।
तराई र पहाडका लागि फागु पूणिर्मामा छुट्टा-छुट्टै दिन विदा दिइएको छ । नेवार समुदायको गाईजात्रा, गौरा पर्व, मोहम्मद जयन्ती, सरुवा पावनीको दिनमा समुदाय विशेष विदा छ ।
महिलाहरुका लागि तीज र जितिया पर्वको विदा छ । शिक्षण संस्थाका लागि वसन्त पञ्चमीमा विदा हुन्छ । काठमाडौंमा गाईजात्रा, इन्द्रजात्रा, मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्रामा विदा छ ।
अपांगता भएकाहरुका लागि पनि अन्तर्राष्ट्रिय अपांग दिवसवमा विदा दिइन्छ । फाल्गुनानन्द जयन्ती, र गुरु नानकको जन्म जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीले विदा पाउँछन् ।
प्रदेशहरुले घोषणा गर्नसक्ने थप ६ दिनको विदा पनि संघयि सरकार अन्तरगतका कार्यालयमा लागू हुन्छ ।
सत्यपाटी । काठमाडौँ ।