वैशाख ३० हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै बाँके नेपालगन्जमा कांगे्रसको उम्मेदवारहरु प्रचारप्रसारमा लागेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् । वडा नम्बर १२ बाट वडा अध्यक्षमा तरुण कुमार बज्राचार्य, महिला सदस्यमा सुशिला पन्त, दलित महिला सदस्य चन्दा चिडिमार तथा खुला सदस्यमा राजकुमार बाल्मिकी र सुकराम चिडिमारलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारहरुले बुधबार बेलासपुरका चिडिमार टोल, सन्तराम चोक क्षेत्रका मतदातालाई भेटेर नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेको वडा अध्यक्षका उम्मेदवार बज्राचार्यले बताए ।
त्यस्तै वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार प्रदिप शाह (तेली) ले आफ्नो चुनावी प्रचार अभियान तीव्र पारेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार शाहले वडा नम्बर ४ मा घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । अध्यक्षका उम्मेदवार शाह, सदस्य पदका उम्मेदवारहरु उत्तमसिंह सिजापति, मो.सलिम हलवाई, अस्मिता शाह महतरा र सुशिला कोरीसहित नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त छन् ।
साथै नेपाली कांग्रेसका तर्फबाट बाँकेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले विभिन्न वडाका क्रियाशील सदस्यहरुलाई भेटेर कांग्रेसका सबै उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका छन् ।
बुधबार वडा नम्बर २, ४, ५, ६ र ७ का क्रियाशील सदस्यहरुलाई भेटेर पौडेल र थारुले समृद्ध राप्तीसोनारी बनाउने आफूहरुको अठोटलाई साकार पार्न सम्पूर्ण पार्टीपंक्ति एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
सत्यपाटी । बाँके ।