नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले द्वन्द्व पीडितको सम्मानका लागि कोहलपुर नगरपालिकामा काँग्रेसका युवा नेता पूर्णप्रसाद आचार्यको उम्मेदवारी रहेको बताएका छन् ।
कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्यका आकांक्षी लगायत नेता, कार्यकर्तालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसले कोहलपुर नगरपालिकामा आचार्य जस्तो युवा नेतालाई मेयरको उम्मेदवार बनाउनु आम कोहलपुरबासीका लागि गर्वको कुरा भएको बताए ।
‘पूर्ण प्रसाद आचार्य कोहलपुर नगरपालिकाको भविष्यसँग जोडिएको युवा नेता हुन्, यसपटक जसरी पनि मेयरमा निर्वाचित गराएर कोहलपुरबासीले जिम्मेवारी सुम्पिनुपर्छ,’ प्रमुख अतिथी राठौरले भने ।
नेता आचार्यको परिवार २०५६ सालमा तत्कालिन द्वन्द्वका क्रममा सल्यान जिल्लाबाट विस्थापित भई कोहलपुरमा आएर बसेको थियो । तसर्थ, द्वन्द्व पीडित र विस्थापित परिवारको सम्मानका लागि आचार्यलाई निर्वाचित गराउनुको विकल्प नभएको राठौरले प्रष्ट्याए ।
यस्तै उपमेयरका उम्मेदवार संगिता सुवेदी कोहलपुरको समग्र विकास गर्न सक्ने सक्षम महिला नेतृ भएको उनले बताए ।
सत्यपाटी । बाँके ।