सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचनमा कलाकार को कता ?

स्थानीय तह निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ता मात्रै होइन, नेपाली कलाकार पनि होमिएका छन् ।

कतिपय कलाकार खुलेरै उम्मेदवारको प्रचार–प्रसारमा व्यस्त बनेका छन् भने कतिपयले अप्रत्यक्ष रूपमा सहयोग गरिरहेका छन् ।

केही कलाकारले त उम्मेदवारी नै दर्तासमेत गरेका छन् ।  कलाकाहरूको यो व्यस्तताले स्थानीय तह निर्वाचनमा थप रौनक ल्याएको छ ।

एमालेको प्रचार–प्रसारमा सक्रिय कलाकार

गायिका कोमल वली, गायक बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, गायिका पूर्णकला बिसीलगायतका कलाकारले एमाले प्रचार–प्रसारका लागि गीत गाएर समर्थन गरिरहेका छन् ।

एमालेबाट राष्ट्रिय सभा सदस्यसमेत रहेकी कोमल वली प्रत्यक्ष रूपमा निर्वाचनमा खटिइरहेकी छिन् । यस्तै, बद्री पंगेनीले त यसअघिका निर्वाचनमा समेत एमालेको प्रचारका लागि गीत गाएका थिए ।

अभिनेत्री करिश्मा मानन्धर पनि नेकपा एमालेको निर्वाचन अभियानमा सक्रिय छिन् । गत महिना एमालेमा प्रवेश गरेकी उनको राजनीतिक सक्रियता निकै बढेको छ ।

माओवादी केन्द्रको प्रचारमा लागेका कलाकार

नेकपा माओवादी केन्द्रनिकट सांस्कृतिक विभागका भ्रातृ संगठनका कलाकारहरू पनि निर्वाचन प्रचार–प्रसारमा सक्रियता बढाएका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष तथा गायक चेतन सापकोटा, कलाकार तथा निर्देशक युवराज लामा, गायक विष्णु खत्रीलगायत माओवादीलाई जिताउन खुलेर लागेका छन् ।

गायक खत्री केन्द्रबाट बाग्लुङको गलकोट नगरपालिकाको मेयरका लागि समेत सिफारिस भएका थिए । तर, गठबन्धनका कारण नगरपालिका माओवादीको भागमा परेन ।

जो आफैँ उम्मेदवार बने

वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका छन् । यस्तै, र्‍यापर बालेन शाहले पनि काठमाडौं महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनीहरू आफ्नो पक्षमा जनमत बटुल्न प्रचार–प्रसारमा जुटिसकेका छन् । दलका भ्रातृ संगठनमा आबद्ध कलाकारहरूलाई मात्रै होइन, स्वतन्त्र कलाकारहरूलाई पनि निर्वाचन लागेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमा बालेन शाहको पक्षमा भोट मागिरहेकी छिन् । यस्तै, गायिका इन्दिरा जोशी र निर्देशक निश्चल बस्नेत बालेनको उम्मेदवारी दर्ता कार्यक्रममा समेत उपस्थित थिए ।

गायक हेमन्त शर्माले पनि सामाजिक सञ्जालमार्फत शाहको पक्षमा भोट मागेका छन् । अभिनेत्री प्रियंका कार्कीले पनि बालेनको पक्षमा भोट दिन अपिल गरेकी छिन् ।

यी हुन् कांग्रेस जिताउन लागेका कलाकार 

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनमत बटुल्न कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघमा आबद्ध कलाकार होमिएका छन् ।

हास्य कलाकार शिवशंकर रिजाल, गायक विमलराज क्षेत्री, गायिका राधिका हमाल, चलचित्रकर्मी तीर्थ थापालगायत निर्वाचन अभियानमा खुलेर लागेका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीसँग सम्बन्धित गीत निकालेको संघले निर्वाचनसभाहरूमा समेत सहभागी जनाउने तयारी गरेको छ ।

गायिका हमाललाई कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिका मेयरमा उम्मेदवारी सिफारिस गरेको थियो । तर, उनले उम्मेदवारी अस्वीकार गरेकी थिइन् ।

राप्रपाको प्रचार–प्रसारमा सक्रिय अभिनेत्री रेखा थापा

अभिनेत्री रेखा थापा राप्रपा नेपालको विभिन्न सभा सम्मेलनमा सहभागी भइरहेकी छिन् । स्थानीय निर्वाचनका लागि राप्रपाको माहोल बनाउन उनको सक्रियता बढेको हो ।

आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०८:२४