सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

खजुरामा कमजोर एमाले, एकीकृत समाजवादी बलियो

खजुरामा एमाले निकै कमजोर बन्दै गएको बताउँदै एक जना एमालेकै कार्यकर्ता भन्छन्, ‘धन र डनवादले राजनीति चल्दैन, राजनीति गर्न त विचार र सिद्धान्तमा परिपक्वता चाहिन्छ । लेखेरै राख्नुस्, पैसाको खोलो नै बगाए पनि खजुरामा एमालेले जित्दैन ।’

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्तासँगै नेकपा एकीकृत समाजवादीले खजुरामा प्रचार प्रसारलाई आक्रामक बनाउँदै लगेको छ । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीभन्दा बलियो देखिएको एकीकृत समाजवादीका उम्मेदवारहरु आक्रामक प्रचारसहित घरदैलो गरिरहेका छन् ।

एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भई निर्वाचनमा होमिएका उम्मेदवारहरुलाई खजुराबासीले जित्नैपर्ने उम्मेदवारका रुपमा चर्चा गरिरहेका छन् । ‘खजुराबासीका लागि अन्य पार्टीभन्दा भरोसा गर्दै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनका उम्मेदवारहरु भरोसा र योग्य हुनुहुन्छ,’ एक जना मतदाताले भने ।

खजुरामा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच भएको दुईदलिय गठबन्धनबाट अध्यक्षमा होमनाथ सापकोटा र उपाध्यक्षमा मोविना खातुन चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष र उपाध्यक्षका दुवै उम्मेदवार स्वच्छ छवी भएका र गाउँपालिकाको समग्र विकासका लागि लागिपर्ने योग्य उम्मेदवार रहेको गाउँपालिकाबासीको बुझाई छ ।

दुईदलिय गठबन्धनबाट खजुरा वडा नं. २ को अध्यक्षमा नन्दलाल गुर्ताल, वडा नं. ३ को अध्यक्षमा शिवबहादुर भण्डारी, वडा नं. ४ को अध्यक्ष दुर्गादेवी खत्री, वडा नं. ५ को अध्यक्षमा भवरा खाँ, वडा नं. ६ को अध्यक्षमा गोपाल सुनार र वडा नं. ७ को अध्यक्षमा रिजवान खाँले उम्मेदवारी दिएका छन् । खजुरा १ र ८ नम्बर वडामा नेपाली काङ्ग्रेससहित गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।

अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले आक्रामक निर्वाचन रणनीति बनाएर टोलटोलमा पुगिरहेको बताए । उनले भने, ‘अबको नेतृत्वका लागि एकीकृत समाजवादीको विकल्प छैन, खजुराबासी हामीलाई जिताउन आतुर हुनुभएको छ । हाम्रो जीत सुनिश्चित छ ।’ खजुरामा एकीृकत समाजवादीकै नेतृत्वमा स्थानीय सरकार बन्नेमा कुनै पनि आशंका नरहेको पनि उनले बताए ।

अध्यक्षका उम्मेदवार सापकोटाले यस पटक भोट दिएर नेता होइन सेवक चुन्न जनतासँग आग्रह गर्नुभएको छ । ‘म आफूलाई नेता होइन जनताको सेवक ठान्छु, मलाई खजुरा र खजुराबासीका लागि नयाँ र जीवनस्तर उकास्नका लागि धेरै कामहरु गर्नुपर्नेछ । निर्वाचन जितेपछि आफ्नो पुरा कार्यकाल जनतासँगै रहेर जनताकै घरदैलोमा सुखदुख साट्दै हरेक चुनौतिहरुसँग लड्नेछु,’ अध्यक्षका उम्मेदवार सापकोटाले भने ।

यसअघि एमालेले ग्रिन सिटी, स्मार्ट खजुरा भन्दै खजुराबासीलाई गुमराहमा पारेर जिते पनि अब एमालेका आकर्षक नारा र भाषण खजुरामा नबिक्ने भएका छन् । खजुराकै एक जना मतदाताले भने, ‘एमालेका उम्मेदवारले हाम्रो घोषणापत्र सिरानीमा राखेर सुत्नुहोला भनेर भन्नुभएछ, अब एमालेलाई मत हालेर जिताउने हो भने उहाँले भनेजस्तै एमालेको घोषणापत्र सिरानीमा राखेर सुतेर सपनादेख्नु बाहेक अरु केही हुनेवाला छैन ।’

उनले एमालेले अघिल्लो निर्वाचनमा देखाएका सपनामाथि कुठाराघात गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले खजुराबासीलाई धोकाबाहेक केही दिन नसकेको दावी गरे । ‘आफ्नै गोदामबाट सिमेन्ट, सरिया बेच्ने, महंगा रोलर र डोजर किनेर कमाउधन्दा चलाएर आफ्नो व्यापार चम्काउँदै व्यक्तिगतरुपमा लाखौं रकम कमाउन बाहेक एमालेका जनप्रतिनिधिले खजुराबासीका लागि केही काम गर्न सक्नुभएन, अनि त्यस्तालाई किन दिने भोट ?’

अब खजुरामा एमालेले कुनै हालतमा जित्न नहुने खजुराबासीहरु बताउँछन् । खजुराबासीहरु भन्छन्, ‘धन र डनवादले चुनाव जितेर खजुराको विनास हामी चाहँदैनौं । अब समृद्ध खजुरा बनाउनका लागि एमाले र अरु पार्टीलाई होइन, एकीृकत समाजवादीलाई जिताउनुको विकल्प छैन । खजुराबासीको भरोसा भनेकै एकीृकत समाजवादी हो । हामीहरु जुसुकै पार्टीमा भए पनि हाम्रो मत एकीकृत समाजवादीमा जान्छ । समाजवादीलाई जिताउँछौं ।’

२०७४ को स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकामा ८०७० मतसहित जित हाँसिल गरेको एमाले गत पाँच बर्षको अवधीमा खजुरामा जनप्रतिनिधिले गरेका कामबाट खजुराबासी सन्तुष्ट छैनन् । वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिको कार्यशैलीबाट आजित भएकाहरु एमालेसँग टाढिएका छन् । जसका कारण खजुरामा नयाँ शक्तिका रुपमा उदाएको एकीकृत समाजवादी खजुराबासीका लागि ‘अब्बल’ पार्टी र स्थानीय तहको निर्वाचनमा बलियो देखिएको छ ।

यहाँ एमालेले सुमन मल्ललाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनी यसअघि खजुरा–१ का वडाध्यक्ष हुन् । आफ्नो वडाबाट बहुमत मत ल्याए पनि वडा नं. २, ३, ६, ७ र ८ लगायत समग्र खजुरामा एमाले निकै कमजोर बन्दै गएको बताउँदै एक जना एमालेकै कार्यकर्ता भन्छन्, ‘धन र डनवादले राजनीति चल्दैन, राजनीति गर्न त विचार र सिद्धान्तमा परिपक्वता चाहिन्छ । लेखेरै राख्नुस्, पैसाको खोलो नै बगाए पनि खजुरामा एमालेले जित्दैन ।’

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०७:५२