सूचनाको शक्ति - The Power Of Information

        

विचार

नेताहरु गतिला नहुँदा मुलुकको दुर्गती

केपी ओलीको खोक्रो भाषणले अब केही जादु देखाउनेवाला छैन । अन्य राजनीतिक दल पनि उही ड्याङका मुला हुन् ।

हामीले अटो शोरुममा गएर गाडी किन्छौं । तर, त्यो गाडी चलाउन सक्षम चालक भएन् भने जतिबेला पनि दुर्घटनामा पर्न सक्छ । गाडी दुर्घटनामा परेपछि आफु पनि मर्छ, अरुलाई पनि मार्छ । तर, त्यसमा गाडीको त केही दोष छैन । किनकी त्यो गाडी त नयाँ थियो । तर, अनुभव नभएको र गतिलो चालक नराख्दा चालककै कारणले लगानी डुब्यो । दुर्घटना भयो, अकालमा कसैको ज्यान गयो ।

यो उदाहरण पनि ठ्याक्कै हाम्रो मुलुकमा लागु भयो । जसरी गाडी चलाउनलाई ड्राइभर राखिएको छ, देश चलाउनलाई नेता छन् । ड्राइभर गतिलो भयो भने उसले यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउँछन् । नेता गतिलो भयो भने देशको पुरै रुप फेरिन्छ । तर, नेताहरु कामचोर, भ्रष्टाचारी र घुसखोरी भएको देशका जनताले जति दुःख सायदै अरु कसैले खेप्नुपर्छ होला ।

अरु मुलुकलाई र नेपाललाई तुलना गरौं । नेपाल सबैभन्दा पुरानो मुलुक भए पनि यहाँको स्थिति निकै नै कहालीलाग्दो छ । तर, अरु मुलुकका नेताहरुले देशलाई सबै स्रोतसाधनका समृद्ध भएर देखाए । हाम्रोभन्दा ढिलो पहिचान पाएका मुलुकहरु आज कहाँबाट कहाँ पुगिसके । यात्रुलाई सुरक्षित यात्रा गराउन, राम्रो बोलीवचन गर्नु र चढ्दा ओराल्दा सहज बनाउनु सहचालकको पनि जिम्मेवारी हो । तर, हाम्रो देशको नेतासँग खलासी बन्न सक्ने क्षमता पनि छैन ।

भाषण गर्ने बेला गालीगलौज गर्ने, गुण्डागर्दी देखाउने र अरुलाई बेइजत गरेर आफुलाई माथि देखाउने खोज्ने उनीहरुको आनीबानी जस्तै भइसकेको छ । अरुलाई गाली गर्दा आफु ठूलो देखिने सोचाइ राजनीतिक दलका नेताहरुमा देखिन्छ । कतिखेर कुन शब्दको प्रयोग गर्नुपर्छ यिनीहरुलाई थाहा छैन । यिनीहरुलाई आउने दुई वटा कुरा, जनता ढाँट्न, भ्रष्टाचार गर्न । यस्ता राजनीतिक दलबाट मुलुकमा विकास हुन्छ भन्ने जनतालाई विश्वास छैन ।

देशले फड्को मार्ला, मँहगी नियन्त्रणमा आउला भन्ने पनि जनतालाई छैन । साथै, विदेशीको ऋणमा दलदलबाट नेपालले छुटकारा पाउलान् भनेर नसोच्नु नै बेस होला । हाम्रो मुलुकमा भएका नेताहरु कुनै भारत, कुनै अमेरिका र कुनै चीनको दलाली हुन् । जसरी यातायात कार्यालयमा लेखनदासहरु दलाल गर्न बसेका हुन्छन् । यिनीहरु नेपाल बेच्नका लागि दलाल गर्न बसेका हुन् । जनताले यिनीहरुलाई नेता भन्दैनन् ।

आफ्नै पार्टीका कार्यकर्ताले मात्र नेताको रुपबाट हेरेका छन् । कुनै कार्यक्रममा नेता आएर भाषण गप्यो भने जनताले एउटै कुरा भन्छन्, फटाहाले भाषण दिइरहेको छ । किनकि नेपालीहरु राजनितिक दलसँग वाक्कदिक्क भइसकेका छन् । हालको देशका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच चोटी प्रधानमन्त्री भइसकेको व्यक्ति हुन् । पाँच चोटी प्रधानमन्त्री हुँदासमेत उनले एउटा सिन्को पनि भाचेनन् । बरु, अर्बौको व्यक्तिगत सम्पत्ति जोडे ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई चोटी प्रधानमन्त्री भए । उनीबाट पनि केही काम हुन सकेन् । पहिलो चोटी प्रधानमन्त्री हुँदा पशुपतिको पुजारी र आर्मीको एउटा कर्मचारीलाई चलाएर पद नै त्यागेर भाग्नुपर्यो । एमालेका अध्यक्ष केपी ओली दुई चोटी प्रधानमन्त्री भए । तीन वर्षको उनको उपलब्धि, आफ्नो कार्यकर्तालाई ठेक्कापट्टा दिने । नातागोतालाई राजदूत बनाउने । बालुवाटारमा नेपालको नक्सा अंकित केक काट्ेर खाने ।

जनताले तिरेको करबाट भोज लगाउने । अघिल्लो दिन राप्रपा भएको कोमल वलीलाई भोलिपल्ट एमालेको मनोनित सांसद् बनाउने पनि केपी नै हुन् । जनताले पाँच वर्ष सत्ता चला भनेर दिदाँ पनि नसकेर दुई चोटी संसद विघटन गर्ने, जनता नदेख्ने तर गोकुल बाँस्कोटा र महेश बस्नेत मात्र चिन्ने । आफ्नै पार्टीका सांसद्लाई समेत नचिन्ने पनि केपी नै हुन् । झलनाथ खनाल पनि एकचोटि प्रधानमन्त्री भए ।

तर, विकासको एउटा ढुंगोसमेत फुटाउन सकेनन् । केही काम नै नगरी नौ महिनाको अवधि समाप्त पारे । २०६४ सालमा दुईवटा क्षेत्रबाट चुनाव हारेका माधव नेपाललाई पुष्पकमल दाहालले प्रधानमन्त्री बनाइदिए । तैपनि, उनले दिन कटाउने र माना पचाउनेबाहेक अरु केही काम गरेनन् । आफ्नालाई मन्त्री बनाउने र वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए ।

जब बाबुराम भट्टराई प्रधानमन्त्री भए तब जनताले धेरै आश गरेका थिए । मुलुकमा विकासको मुल फुट्छ, बेरोजगारी हट्छ भन्नेमा सबैजना विश्वस्त थिए । तर, भट्टराईले पनि माथिकै काममा निरन्तरता दिए । आफु भ्रष्टाचार नगर्ने भन्ने तर श्रीमती हिसिला यमीले जे भने पनि मान्ने । भट्टराईले पनि वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए । यता, थानकोटको मातातिर्थको हजारौ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिए ।

स्वर्गीय प्रधानमन्त्री सुशील कोइराला एउटा त्यागी नेता हुन् । आफु प्रधानमन्त्री भएको बेला उनले संविधान बनाए । तर, कांग्रेसका नेताहरुले उनलाई भुङग्रोमा राखेर आगो फुके । संविधान बनाउने सुशील कोइराला, तर त्यसको फाइदा उठाउने चाहिँ कांग्रेस । आजको दिनमा कुनै कांग्रेसका नेताले सुशील कोइरालाले संविधान बनाएको भन्छन् ? आफु ओझेलमा पर्ने हो कि भन्ने डरले कसैले पनि सो कुरा कोट्याउन चाहदैनन् ।

हिजो कोइरालाले त्याग नगरेको भए सायद संविधान बन्दैन्थ्यो होला । राजनीतिक दलहरुले सत्ता चलाउन र चुनाव गराउन नसकेर २०७० सालमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनेको कुरा लुकाएर लुक्दैन । प्रधानन्यायाधीश रेग्मीले चुनाव गराएपछि राजनीतिक दललाई नै सत्ता हस्तान्तरण गरेका थिए । कमल थापा, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो अवसरवादी नेता हुन् ।

सत्ताबाहिर बस्दा जनताको नाम लिने । मन्त्री पद पाउनका लागि योजना बनाउने । तर, सत्तामा पुग्ने बित्तिकै जनता र राष्टको नारा बेचिदिने । यी नेताको हातमा सरकार चलाउन दिने हो भने देश बेचेर नखालान् भन्न सकिँदैन । किनकि यिनीहरु स्वार्थी नेता हुन् । राष्ट्र र जनतासँग होइन् सम्पत्तिसँग यिनीहरुलाई मतलब छ । राजेन्द्र लिङदेनबाट जनताले केही अपेक्षा राखेका थिए । तर, उनी पनि माथि नै नेताचाहिँ निस्किए ।

अहिलेसम्म मन्त्री पद नपाएका लिङदेनलाई मन्त्री हुन सारै रहर लागेको कुरा उनको घोषणापत्रले देखाएको छ । अरु पार्टीका नेताझैं उनले पनि सस्तो घोषणापत्र सार्वजनिक गरेका छन् । कर छुट गर्छु, सुत्केरीलाई मासिक भत्ता दिन्छु जस्ता उही पुराना शीर्षक उनको घोषणापत्रमा उल्लेख छ । बरु, विदेशीको ऋण लिन्न, खेतीयोग्य जमिन बचाउछु, अरु देशको नाङ्गो हस्तक्षेप रोक्छु भनेको भए जनताले पत्याउथे कि ।

कर नै नलिइकन सुत्केरीलाई भत्ता चाहिँ विदेशीबाट ऋण लिएर खुवाउने ? अलिकति सोच विचार गरेर बोल्नुपर्दैन । जनताले पत्याउने घोषणापत्र त सार्वजनिक गर्नुपर्छ । २०७२ सालमा संविधान बन्दा भारतले नेपालमा नाकाबन्दी लगायो । आफ्नो स्वार्थ पूरा नभएपछि भारतले नेपालमा सबै सामानमा निर्यातमा रोकतोक लगाएको थियो । भारतको विरोध गरेर २०७४ सालको चुनावमा केपीको पार्टीले जित्यो ।

त्यतिखेर केपीले जित हासिल गर्न मनमा लागेका कुराहरु लेखेर घोषणापत्र सार्वजनिक गरेको अझै पनि सबैलाई स्मरण नै छ । सिलिण्डर विस्थापन गरेर घरघरमा ग्याँसको पाइप जडान गर्ने, पानी जहाज र रेल चलाउने, बुढाबुढीलाई मासिक पाँच हजार भत्ता दिने, बाटोमा मागेर खानेको अभिभावक बन्ने, टुहुरा बालबालिकालाई शिक्षादिक्षा प्रदान गर्ने, शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीलाई गरिखानका निम्ति ऋण प्रदान गर्ने, झुठा आश्वासन दिएको एमालेले स्थानीय र राष्ट्रिय सभाको चुनावमा जित हासिल गर्यो ।

केही दिनअघि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गर्यो । सो घोषणापत्रमा पनि जनतालाई भ्रममा पार्ने कुराबाहेक अरु केही लेखिएको छैन । जनताको नारा उल्लेख गरेर घोषणापत्र सार्वजनिक गरिएको छ । केपीले नै यातायात समिति खारेज गरे । तर, समितिको नाममा भएको चलअचल सम्पत्ति फुक्का गर्ने पनि उनी नै हुन् । ४१ महिना प्रधानमन्त्री हुँदा पनि उनले हरियो र कालो प्लेटको ट्याक्सीको नयाँ दर्ता खोलेनन् ।

तीन दशकदेखि दर्ता बन्द भएको ट्याक्सीको नयाँ दर्ता खोल्न कुनै चासो देखाएनन् । बुढाबुढीलाई पाँच हजार भत्ता पुर्याउनु भनेको त्यो पनि घोषणापत्रमै सिमित बन्यो । स्थानीय सरकारमा आएपछि एमालेका वडाध्यक्ष र मेयरले सबैभन्दा धेरै भ्रष्टाचार गरेका छन् । आगामी वैशाख ३० गते हुने चुनावमा पार्टीले यिनलाई फेरि पनि टिकट देलान् । तर, जनताले यिनीहरुलाई त नङ्गाइदिन्छन् ।

अहिलेका मेयर र वडाध्यक्षलाई जनताले कुनै पनि हालतमा मत दिनेवाला छैनन् । स्थानीय सरकारमा आएपछि तलबभत्ता खाने र सरकारी गाडी चढ्नेबाहेक अरु केही काम यिनीहरुले गरेका छैनन् । अबको चुनावमा केपीको पार्टीले दुई–तीन सिट पनि पाउँदैन् । पछिल्लो समय केपीले देखाएको फुर्ती र नचाहिँदो दाबीको जवाफ फर्काउन जनताहरु तम्तयार भइसकेका छन् । एमालेबाट आएका जनप्रतिनिधिहरुको काम गर्ने क्षमता जनताले देखिसकेका छन् । केपी ओलीको खोक्रो भाषणले अब केही जादु देखाउनेवाला छैन । अन्य राजनीतिक दल पनि उही ड्याङका मुला हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १०:४६