गजल – एक
तिम्रो नै चर्चा चल्ने शहरको, तामझाम यो कस्तो ?
बेहुली बिना मण्डप सजियो, बदनाम यो कस्तो ?
शक्ति प्रदर्शनको मेला राख्यौं, हारजीत यो कस्को ?
आफ्नैलाई हराई आफ्नै मार्न, सरजाम यो कस्तो ?
दोष प्रत्यारोप लगाउछौं त, आफू किन ओभानो ?
दण्डपाणि मानसिकताको नै, सामदाम यो कस्तो ?
सोच फराकिलो बनाउ निरंकुश तिमी किन बन्छौं ?
आँखा बन्द गरि हिड्यौं भिरमा, रामराम यो कस्तो ?
पाप पुण्य ख्याल गर्नुपर्ने, तिमीलाई मर्नु पर्दैन र ?
फुलपाती दियो भेटी बिनाको, चारधाम यो कस्तो ?
गजल – दुई
आफुजस्तो उस्तै स्वभाव अरुमा देख्छ ।
चस्मा लाउँछ दृष्टि अभाव अरुमा देख्छ ।।
संस्कार संस्कृतिको धज्जी उडायो आफैं ।
कुलत कुविचारको प्रभाव अरुमा देख्छ ।।
भनक रत्तिभर हुदैन चतु¥याइँ कति हो ।
गला रेट्छ र स्वार्थी भाव अरुमा देख्छ ।।
मौन छ चित्र तर पनि चरित्र चित्रण गर्छ ।
शिल्पकलाले नै मनोभाव अरुमा देख्छ ।।
नाटक नौटङ्की कति सत्ताको खेलमा ।
निरंकुश प्रवृत्तिले दुर्भाव अरुमा देख्छ ।।
गजल – तीन
बौद्धिकपरक बहसका जहरले मार्यो ।
खुलेआम दोहरी खेलको शहरले मार्यो ।।
कैले यता कैले उता गर्छन् त भन्थे पैले ।
मोरीको मोह गजब, त्यहीँ रहरले मार्यो ।।
भाषा उस्तै भेष उस्तै प्रेममयी तरङ्गले ।
शब्दसङ्गै नसा छर्ने छन्द लहरले मार्यो ।।
नसनसमा समाहित हुने कला उसैको ।
भ्रमकोजालो रैछ खै के कहरले मार्यो ।।
अक्षांश रङाउदै तिम्रै नाम लेख्छु भन्नेले ।
भ्रममै डुबाएका ती गजल बहरले मार्यो ।।
गोमा सापकोटा ‘स्मृति’ ।