सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

स्थानीय चुनावका लागि एक लाख बढी उम्मेदवारको मनोनयन

४० पदमा भने एकल मनोनयन

स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ तहमा एक लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको यकिन तथ्यांक निर्वाचन आयोगको प्रणालीमा समाविष्ट हुन बाँकी नै भए पनि उम्मेदवारको संख्या एक लाख बढी हुने निश्चित देखिएको छ ।

आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा १ लाख ३६ हजार २६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तहमा वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । देशभरको मनोनयनमा ४० पदका लागि भने एकल उम्मेदवारी परेको छ ।

केही हिमाली जिल्लाहरुमा केही अध्यक्ष, वडाध्यक्ष र सदस्यहरुमा एकल उम्मेदवारी परेको हो । उनीहरु निर्विरोध निर्वाचन हुने भए पनि निर्वाचन आयोगले त्यसको पुष्टि भने गरेको छैन ।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार ०८:१७