सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ११ रनले हराएको छ ।

गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले ।

पञ्जाबका कागिसो राबडा र ऋषि धवनले २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८७ रन जोडेको थियो ।

पञ्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए। आठ खेलमा चार वटामा जित निकालेको पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ।

आठ खेलमध्ये ६ मा हार बेहोरेको चेन्नई चार अङ्कसहित नवौँ स्थानमा रहेको छ । आईपीएल क्रिकेट अन्तर्गत आज बेलुकी पौने आठ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर र राजस्थान रोयल्स खेल्दैछन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार ०८:०३