सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन:

नेपालगन्ज मेयरमा गठबन्धनबाट कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राईको उम्मेदवारी

बाजागाजासहितको निर्वाचन अधिकृतको कार्यालयमा

बाँकेको नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनबाट प्रमुख र उपप्रमुख पद पाएका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाको लागि प्रमुख पदमा कांग्रेसका नगर सभापति प्रशान्त विष्ट र उपप्रमुख पदमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराए ।

जसपा र कांग्रेस बाँकेले आ(आफ्ना कार्यालयबाट छुट्टाछुट्टै जुलुससहित उम्मेदवारी दर्ता गराए । दुवै दलबाट २३ वटै वडामा अध्यक्ष र सदस्यले पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार नै राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिकला मगरलगायत २३ वटै वडाका अध्यक्ष र सदस्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख र उपप्रमुख नपाएपछि नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो । नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार सोमबार पाँच बजेसम्म मेयरमा १४ जना, उपमेयरमा चार जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १८:३६