नेकपा एमाले यतिबेला बाँकेमा कमजोर देखिएसँगै ओरालो यात्रा पनि सुरु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चार स्थानीय तहमा जितेको एमालेले उस्तै अवस्था आए बाँकेमा ‘निल’ हुने आँकलन गरिएको छ । पार्टी विभाजनसँगै टिकट बाँडफाँडमा मनपरीतन्त्र हावी भएपछि एमाले कमजोर देखिएको छ ।
अधिकांश स्थानीय तहमा ‘अंशियारवाला’, ‘विवादीत’ र ‘टुरिस्ट’ उम्मेदवार उठाएपछि यतिबेला एमाले बाँकेमा कमजोर मात्रै होइन, शुन्यकै स्थितिमा पुग्ने आँकलन गरिएको छ । २०७२ मा भारतीय नाकाबन्दीविरूद्ध उभिएको एमालेसँग राजनीतिक पूँजी सुरक्षित भए पनि अहिले त्यो पूँजी गुमिसकेकाले निर्वाचन जित्न मुस्किल छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेता तथा कार्यकर्तालाई टिकट दिने क्रममा नेकपा एमाले बाँकेमा मनपरीतन्त्र हावी भएको देखिएको छ । जिल्लाबाट सिफारिस गर्ने नाममै मनपरी र आफुखुशी भएपछि प्रदेश र केन्द्रले समेत हस्तक्षेप गरेर ‘अंशियारवाला’, ‘विवादित’ र ‘टुरिस्ट’ उम्मेदवार बनाएपछि एमालेलाई २०७४ को बिरासत जोगाउनै मुस्किल छ ।
आम नागरिक र मतदाताले रूचाएका व्यक्तिलाई पाखा लगाएर केपी ओलीको ठाडो निर्देशनमा बाँके र लुम्बिनी प्रदेशका केही नेता तथा एमालेका केन्द्रीय सदस्यले जनभावना विपरित असक्षम र पैसा तथा पहुँचवालालाई टिकट दिएपछि एमाले बाँकेका धेरै नेता कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ ।
टिकट वितरणमै असन्तुष्ट बनेका नेता कार्यकर्ताहरु अर्को पार्टीमा नखुले पनि अन्तरघातको ‘दाउ’मा मतदानको दिन कुरेर बसेको एमाले स्रोतले बतायो । स्रोतले भन्यो, ‘२०७४ मा एमालेसँग बलियो राजनीतिक एजेण्डा र मजबुत पार्टी संगठन रहेका बेलाको बिरासत अहिले एमालेमा छैन । यसपटक बाँकेका सबै स्थानीय तह एमालेले गुमाउन सक्छ ।’
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा चौथो स्थानमा रहेको एमालेले २०७९ को निर्वाचनमा विवादास्पद छवी भएका पशुपतिदयाल मिश्रालाई उम्मेदवार बनाएको छ । उनीहरु पद र टिकटकै लागि विभिन्न पार्टीका दैलो चाहारेर अहिले एमालेको दैलोमा पुगेका छन् ।
त्यसो त २०७२ बैशाख १२ को महाभूकम्पले नेपाललाई क्षतबिक्षत बनाएको केही समयमै मधेसमा आन्दोलन सुरुवात भएको थियो । नेपाली नागरिकले भूकम्पको पीडा भुल्न नपाउदै फेरि मदेशमा अर्को आन्दोलनको सुरुवातसँगै नेपालगन्जको सिमा नाका जमुनाहापारि रुपैडियाबाट आफ्नै देशमा ढुङ्गामुढा बर्साउने कमाण्डर मिश्रा नै हुन् ।
अहिले पनि नेपालगन्जबासीले उनलाई राष्ट्रघातीका रुपमा चित्रण गर्दै आएका छन् । छिमेकी देशको भूमीबाट आफ्नै देशतिर फर्किएर ढुङ्गा हान्ने आन्दोलनको कमाण्ड गरेर नेपाली नागरिक र नेपालगन्जबासीप्रति उनले गरेको ‘गद्दारीको दाग’ कहिले पनि पखालिएर नमेटिने नेपालगन्जका सचेत नागरिकहरु बताउँछन् ।
‘आफ्नै आमाको छातीमा ढुङ्गा बर्साउनेलाई कसले मत दिन्छ ?’ नेपालगन्जका एक जना स्वतन्त्र मतदाता भन्छन्, ‘उनलाई आफ्नी आमाभन्दा छिमेकीकै आमाको माया बढी छ, नेपालगन्जमा निर्वाचन लड्नुभन्दा रुपैडिहातिरै गएर निर्वाचन लडेको भए राम्रो हुने थियो, खै कुन मुखले यतातिर आएर चुनाव लडिरहेका छन् ।’
त्यसो त एमालेकै चुनाव चिह्न लिएर बाँके क्षेत्र नं.२ बाट संघीय संसदका लागि उम्मेदवार बनेका थिए । त्यसबेला पनि उनलाई ‘पारिबाट वारि ढुङ्गा हान्ने’को आरोप लागेको थियो । त्यतिबेलाको निर्वाचनमा पराजय व्यहोरेपछि केही समय सेलाएका मिश्रा टिकटकै लागि एमालेमा प्रवेश गरेर अहिले मेयरको उम्मेदवार बनेका छन् ।
‘उनको उम्मेदवारीले एमालेभित्रै चरम असन्तुष्टि छ । एमालेका मतदाताले बैशाख ३० गतेलाई पर्खिरहेका छन् । ‘पारिबाट वारि ढुङ्गा हान्ने’लाई कसरी मत दिन सकिन्छ ?’ एम जना एमाले निकटका मतदाताले भने, ‘उनको विकल्पमा अरु पार्टीकै किन नहोस् राम्रो, योग्य र विकासप्रेमी व्यक्तिलाई भोट दिने हो ।’
उनी मेयरको उम्मेदवार बनेसँगै सामाजिक सञ्जालमा मात्रै होइन, आम नेपालगन्जबासीका बीचमा आलोचित बन्दै गएका छन् । नेपालगन्जमा एमाले फुटको असर पनि स्थानीय तह निर्वाचनमै देखिनेछ । विगतमा माधव नेपालको समर्थनमा उत्रिएका तर अहिले एमालैमै रहेकाहरुले पनि पशुपतिलाई हराएर देखाइदिने आन्तरिक तयारी गरेका छन् ।
‘एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेलगत्तै मेयरको टिकट हत्याउन सफल भएका पशुपतिलाई हराएर ओलीकै सेखी झारिदिने तयारीमा छौं,’ नेपालगन्ज नगर स्तरीय एक जना एमाले नेताले नाम नबताउने सर्तमा भने, ‘हाम्रो पनि नैतिकताको सवाल छ, पशुपतिलाई कुनै हातलमा जित्न दिँदैनौं ।’
२०७४ को स्थानीय तहको निर्वाचनमा कोहलपुरमा नेपाली काँग्रेससँग ८३ मतान्तरले मात्रै जितेको एमालेले त्यहाँ ९००७ मत ल्याएको थियो । एमाले विभाजनसँगै नगरपालिकाकै जनप्रतिनिधि अहिले नेकपा एकीकृततिर समाहित भइसकेका छन् । जसका कारण पनि कोहलपुरमा एमालेले जित्ने सम्भावना शुन्यजस्तै छ ।
कोहलपुरमा यसपटक एमाले तेस्रो हुने आँकलन गरिएको छ । पहिलो काँग्रेस र दोस्रोमा माओवादी केन्द्र तेस्रो हुने आँकलन गरिएको छ । अझ कोहलपुरमा विवादास्पद छवीका व्यक्तिलाई एमालेले उम्मेदवार बनाएपछि एमालेभित्रै असन्तुष्टि थप चुलिएको छ । यसले एमालेभित्र चरम अन्तरघातको सम्भावना रहेको एमालेकै नेता कार्यकर्ताहरु बताउँछन् ।
कोहलपुर नगरपालिकामा विवादित छवी भएका खिलप्रसाद भुषाललाई टिकट दिएपछि कोहलपुरका एमाले नेताहरू असन्तुष्ट छन् । ‘एमालेले खिलप्रसाद टिकट दिएर एमालेको हार सुनिश्चित गरेको छ,’ एमाले निकटका एक जना मतदाताले भने । उनी यसअघि पत्रकारदेखि सर्वसाधारण मतदातालाई समेत तुच्छ शब्दमा गालीगलोज गरेर विवादीत बनेका थिए ।
एमाले अध्यक्ष ओली निकट मानिने भुषाललाई कोहलपुरमा पार्टीकै नेता कार्यकर्ताले रुचाउँदैनन् । पैसा र पहुँचको आडमा टिकट लिन सफल भएको भन्दै एमाले कार्यकर्ताहरुले नै तीव्र आलोचना गरिरहेका छन् । ‘खै उहाँ कसरी जित्नुहुन्छ, उहाँलाई नै थाहा होला ? हामी उहाँलाई भोट दिन्नौं,’ एक जना एमाले कार्यकर्ता भन्छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा बैजनाथ गाउँपालिकामा ९७७२ मत ल्याएको एमाले यसपटकको निर्वाचनमा नराम्रोसँग चिप्लिएर तेस्रो या चौथो स्थानतिर पुग्ने खतरा देखिएको छ । यहाँ एमाले फुटको असर सबैभन्दा धेरै रहेको छ भने एमालेले मतदाताको रोजाइँ अनुसार उम्मेदवार नदिँदा हार निश्चित रहेको आँकलन गरिएको छ ।
एमालेका अध्यक्ष केपी ओलीका विश्वास पात्रका रुपमा रहेका कोहलपुर नगरपालिकाको चप्परगौडीका घननाथ खनाल बैजनाथ गाउँपालिकामा अध्यक्षको टिकट हत्याउन सफल भएका छन् । उनले टिकट लिएसँगै बैजनाथका एमाले नेता कार्यकर्ताहरुले उनलाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै तीव्र आक्रोश पोखिरहेका छन् ।
एमालेकै नेता कार्यकर्ताबीच ‘टुरिस्ट’ नेताका रूपमा पहिचान बनाएका कोहलपुर घर भएका खनाललाई बैजनाथमा उम्मेदवार बनाउनु पार्टीकै लागि घात भएको नेता कार्यकर्ताहरु बताउँछन् । बैजनाथका एक जना मतदाताले भने ‘टुरिस्ट उम्मेदवारलाई स्वीकार्न सकिदैन । खै पार्टीले पैसा र पहुँच भएरै उहाँलाई टिकट दियो होला, हामी मत दिन्नौं ।’
बैजनाथमा आममतदाता र गाउँपालिकाबासीले मानबहादुर रूचाललाई नै फेरि उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका थिए । तर, एमालेका उच्च नेता र केन्द्रीय सदस्यसँगको साँठगाँठले कोहलपुरमा खिलप्रसाद र बैजनाथमा घननाथले टिकट पाएसँगै एमाले नेता कार्यकर्ताभित्रको आक्रोश भित्रभित्रै भुसको आगोझैं फैलिरहेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकामा ८०७० मतसहित जित हाँसिल गरेको एमालेले यसपटक कडा संघर्ष गर्नुपर्ने देखिएको छ । यहाँ पार्टी विभाजनको असर गहिरोरुपमा परेको छ भने वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिको कार्यशैलीबाट आजित भएकाहरु एमालेसँग टाढिएका छन् ।
खजुरामा त्रिपक्षीय प्रतिश्पर्धा हुने देखिएको छ । यहाँ एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मत सर्वेक्षण अनुसार खजुरामा एमाले र माओवादी केन्द्रबीच कडा प्रतिश्पर्धा हुने र नयाँ शक्तिका रुपमा उदाउँदै खजुरामा ‘अब्बल’ मानिएको एकीकृत समाजवादी पहिलो हुने आँकलन गरिएको छ ।
यहाँ एमालेले सुमन मल्ललाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनी यसअघि खजुरा–१ का वडाध्यक्ष हुन् । आफ्नो वडाबाट बहुमत मत ल्याए पनि वडा नं. २, ३, ६, ७ र ८ मा एमाले निकै कमजोर रहेकाले एमालेले सहजै रुपमा जित हासिल गर्न कठिन रहेको देखिन्छ । ‘लेखेरै राख्नुस्, खजुरामा एमालेले जित्दैन,’ एक जना एमालेकै कार्यकर्ताले भने ।
२०७४ को स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिकामा नेपाली काँग्रेससँग ८३ मतान्तरले एमाले विजयी भएको थियो । यहाँ एमाले ३०८३ र नेपाली काँग्रेसले ३००९ मत ल्याएको थियो । अहिले जानकीमा तत्कालिन अध्यक्ष स्व.रामनिवास यादवको मृत्युपछि ‘शुन्य’ राजनीतिक पृष्ठभूमी भएका उनका छोरा हिमांशुलाई उम्मेदवार बनाइएको छ ।
लामो समयदेखि पार्टीमा काम गरेकाहरुलाई अवसरबाट बञ्चित गरेर राजनीतिमा पनि अंशियार बनाउँदै टिकट बाँडेर पार्टीले गलत गरेको एमाले वृत्तमा चर्चा परिचर्चा भइरहेको छ । ‘अंशियारलाई उम्मेद्वार बनाएर पार्टीले ठूलो गल्ती गरेको छ । यसको सजायको नतिजा बैशाख ३० गतेपछि देखिनेछ,’ एक जना एमालेकै वडाध्यक्षले भने ।
२०७४ को स्थानीय तहको निर्वाचनमा डुडुवा गाउँपालिकामा १४६६ मत ल्याएको एमालेले यस पटक पनि सोही आसपासमा मत ल्याउने आँकलन गरिएको छ । गत निर्वाचनमा डुडुवामा ४६९१ मतसहित नेपाली काँग्रेसका नरेन्द्र चौधरी विजयी भएका थिए । यस पटक एमालेले डुडुवामा नामै नसुनेकालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
एमालेले डुडुवामा सरोजकुमारी यादवलाई उम्मेदवार बनाएको छ । उनी जसपाले काबाही गरेर संसद पद नै गुमाएका तत्कालिन लुम्बिनी प्रदेश सांसद विजय यादवकी श्रीमति हुन् । लामो समय पार्टीमा काम गरेकाहरुलाई पन्छाएर एकाएक यादवलाई उम्मेदवार बनाएपछि डुडुवामा एमालेले गत निर्वाचनमा ल्याएको भोट पनि गुमाउने आँकलन गरिएको छ ।
एमालेको उपस्थित र संगठन निकै कमजोर रहेको डुडुवामा ‘आगन्तुक’लाई उम्मेदवार बनाएपछि पार्टीको ‘पकेट’ मत पनि प्रभावित हुने एमाले कार्यकर्ताहरुकै भनाई छ । ‘पार्टीभित्र मनपरी छ, भोट पनि किन हाल्नु र ?’ डुडुवाका एक जना एमालेका युवा नेताले भने । यसले पनि डुडुवा गाउँपालिका एमालेको पहुँच बाहिर देखिएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नरैनापुर गाउँपालिकामा १८७२ मत ल्याएको एमाले यसपाली पनि तेस्रो स्थानमै रहने देखिएको छ । गत निर्वाचनमा ४०८० मतसहित संघीय समाजवादी फोरम (हाल जनता समावादी पार्टी)का इस्तियाक अहमद शाह विजयी भएका थिए । अहिले पनि उनको विकल्प कोही नभएको आँकलन गरिएको छ ।
गत निर्वाचनमा नरैनापुरमा नेपाली काँग्रेस दोस्रो भएको थियो । जानकीमा जस्तै नरैनापुरमा पनि एमालेलाई ‘अंशियार’ उम्मेदवार उठाएको आरोप लागेको छ । यहाँ तत्कालिन संविधान सभा सदस्य स्व.दिनेशचन्द्र यादवकी धर्मपत्नी पदमावती यादवलाई उम्मेदवार बनाएपछि नरैनापुरका एमाले कार्यकर्ताहरु असन्तुष्ट रहेका छन् ।
‘सधैं उहाँकै परिवारलाई पद चाहिने भए हामी किन उहाँहरुकै पछाडी लाग्ने ? यसपटक इश्तियाकलाई भोट हालिन्छ । बरु पार्टीले कारबाही गरे पनि केही फरक पर्दैन,’ ,’ एक जना गाउँ कमिटी सदस्यले भने, ‘हामीले दिनेशलाई जिताएकै हौं, अहिले फेरि उहाँकै श्रीमतिलाई जिताउनुपर्ने, अर्को पटक उहाँको छोरालाई जिताइदिनुपर्ने हाम्रो ठेक्का हो र ?’
दिनेशचन्द्र यादवले जितेपछि नरैनापुरको विकासमा सिन्को पनि नभाँचेको ती सदस्यको आरोप छ । ‘हामीले जिताएकै हौं, उहाँले केही गर्न सक्नुभएन । बरु हामीले गत निर्वाचनमा भोट नहाले पनि इश्तियाकले धेरै राम्रो काम गर्नुभएको छ । बरु म एमाले छाड्न तयार छु, यस पटक मेरो परिवारको भोट उहाँलाई नै जान्छ ।’
२०७४ को स्थानीय तहको निर्वाचनमा राप्तीसोनारी गाउँपालिकामा एमालेले ६९०० मत ल्याएको थियो । त्यहाँ नेपाली काँग्रेसका लाहुराम थारु ८२३६ मतसहित विजयी भएका थिए । यस पटक एमालेले थारु समुदायबाट रामदास थारुलाई उम्मेदवार बनाउँदा थारु समुदायको मत प्रभावित गर्न सक्ने सम्भावना रहेको आँकलन गरिएको छ ।
यद्यपी कांग्रेस र माओवादीको गडबन्धनका कारण उनले जित्नु ‘फलामको चिउरा चपाउनु सरह’ भएको आँकलन गरिएको छ । राप्तीसोनारीमा गठबन्धनका उम्मेदवारको विकल्प नभएको पनि आँकलन गरिएको छ । गत निर्वाचनमा एउटा वडामात्रै जितेको एमालेले यस पटक सोही वडा पनि गुमाउने स्थिति रहेको एमालेभित्रै चर्चा छ ।
निर्वाचनमा केही वडाहरु हात पारे पनि स्थानीय तहको नेतृत्व जित्ने सवालमा बाँकेमा एमाले ‘शुन्य’ नै हुने आँकलन गरिएको छ । ‘अंशियारवाला’, ‘विवादीत’ र ‘टुरिस्ट’ उम्मेदवारका कारण बाँके जिल्ला एमालेको पहुँच बाहिर गइसकेको छ । विगतमा जितेका वडाहरुसमेत गुमाउने अवस्थामा देखिन्छ ।
एमाले बाहिर ‘बेलुन’ जस्तो फुकेको र निकै फुर्तिलो देखिएको भित्रभित्रै चाहुरिँदै र साँघुरिदै गएको छ । स्थानीय तहको निर्वाचनमा टिकट पाएका ‘विवादीत’, ‘टुरिस्ट’ र ‘अंशियारवाला’ उम्मेदवारका कारण एमालेको पक्षमा नतिजा नआउने निश्चित छ । एमाले खुम्चिँदै जाँदा त्यसको फाइदा नेकपा एकीकृत समाजवादीले लिँदै केही स्थानीय तहमा जित्न सक्ने सम्भावना पनि रहेको जानकारहरु बताउँछन् ।
Design : Aarush Creation
सत्यपाटी । ।