नेपाली काँग्रेस कोहलपुरले मेयर र उपमेयर टुंगो लगाएको छ । सत्तारुढ दलहरुबीच निर्वाचन गठबन्धन नबनेपछि काँग्रेसबाट कोहलपुरको मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी टिकट पाएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट बलियो उम्मेदवारहरु उठाएको छ ।
अहिले हरेक चोक, चिया पसलदेखि सबै स्थानमा मेयरमा आचार्य र उपमेयर सुवेदीको चर्चाको भइरहेको छ । अहिलेको अवस्थामा कांग्रेसको लागि सुरक्षित मानिएको यो नगरपालिकामा आधा दर्जन बढीले दाबी गरिरहँदा महासमिति सदस्य युवा नेता आचार्यको सशक्त दाबेदारी थियो ।
नगरपालिकाको मेयर लड्ने मनस्थितिका साथ आचार्य केही समय अगाडिदेखि नै तयारीमा जुटेका थिए । ‘म कोहलपुर नगरपालिकाको मेयरमा निर्वाचन लड्ने मनस्थिति बनाएरै अघि बढिसकेको थिए, पार्टीले टिकट दिएको छ अब निर्वाचन जित्ने आत्मविश्वास पनि छ, युवा नेता आचार्यले भने ।
आचार्य कोहलपुर नगरपालिकाको मेयर पदको प्रबल दाबेदार मानिएका छन् । ८ बर्षदेखि नेविसंघ बाँकेको अध्यक्ष पदमा रहँदै आएका नेता आचार्य कोहलपुर नगरभित्र धेरै लोकप्रिय छन् । कोहलपुर नगरपालिका वडा नं.८ का स्थायी बासिन्दा आचार्य नेविसंघको बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिर्दै बाँके कांग्रेसको जिल्लास्तरका एक प्रभाशाली युवा नेताका रुपमा चिनिन्छन् ।
युवा नेता आचार्य संकटमा समेत सक्रिय बनेका कारण सबैको प्रिय रहेको स्थानीयहरु बताउँछन् । उनले कोरोना महामारीको बेला ‘हुने खानेले हुँदा खानेलाई सहयोग गरौं’ भन्ने अभियान सञ्चालन गरी कोहलपुर नगरपालिकाभित्रका अति विपन्न र भोकमरीमा परेका १ हजार बढी परिवारलाई खाद्यान्नको जोहो गरेका कारण पनि गरिब दुःखीहरुको माया पाउनेमा ढुक्क छन् ।
यतिमात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र सीमित रहेको बेला आचार्यको सक्रियता लोभलाग्दो रहेको कोहलपुरका स्थानीयहरु बताउँछन् । नेता आचार्यले कोरोना महामारीकै समयमा कोहलपुर नगरपालिकाभित्र संचालित क्वारेन्टाइनमा आफ्नै ब्यक्तिगत लगानीमा हरियो तरकारी बितरण गर्दै कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री बितरणमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
संकटका बेला गरेको सहयोगकै कारण नेता आचार्य सबैका प्रिय पात्र बनेको चर्चा सुनिन्छ । आचार्यले द्वन्द्वकालमा हत्या गरिएका नेविसंघका नेता चोकबहादुर खत्रीको नाममा कोहलपुरस्थित त्रिभुवन माध्यमिक बिद्यालयमा १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष र राम माध्यमिक विद्यालय कोहलपुर १४ मा शहिद जागेश्वर थारुको नाममा १ लाख रुपैयाँको छात्रवृत्ति कोषको स्थापना गरेर सामाजिक कार्यमा एक अब्बल सहयोगी नेताका रुपमा समेत आफूलाई स्थापित गरिसकेका छन् ।
कोहलपुर नगरपालिकाको मेयरमा बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य, सञ्जुकुमारी थारु, चक्र अधिकारी, फुलाराम थारु र राजेन्द्र श्रेष्ठले पनि दाबेदारी गरिरहेका थिए । यस्तै उपमेयरमा संगिता सुवेदी कोहलपुर नगरपालिकाको उपमेयर पदको प्रबल दाबेदार मानिएकी छिन् । कोहलपुर जेसीस हुँदै पार्टी राजनीतिमा आएकी उनको विभिन्न संघसंस्थामा समेत राम्रो पहिचान कमाउँदै नगरभित्र धेरै लोकप्रिय मानिन्छन् ।
उनी कोहलपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, कोहलपुर जेसीस वर्ष २०१९ को अध्यक्ष, लाइन्स क्लब कोहलपुर अध्यक्षसमेत रहेकी छन् । कोहलपुरका जनताहरुलाई संकटको बेलामा खाद्यान्न, पौष्ठिक आहारा, प्राकृतिक अक्सिजन जोहो गरेका कारण पनि गरिब दुःखीहरुको माया पाउनेमा ढुक्क छन् । यतिमात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र थिए, तर सुवेदी सुत्केरी महिलादेखि विपन्न बालबालिकाको घरसम्म पुगेको कोहलपुरका स्थानीयहरु बताउँछन् । कोहलपुर नगरपालिकाको उपमेयरमा अहिलेसम्म पाँच जनाले दावी गरिरहेका थिए । जसमा संगिता सुवेदी, मिना सिग्देल, केशकुमारी वली, अञ्जना पाण्डे, द्रोपती वली रहेका थिए ।
सत्यपाटी । बाँके ।