सूचनाको शक्ति - The Power Of Information

        

इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ ।

लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्।

जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो पार्दा पराजित टोली एभर्टन भने रेलीगेशन क्षेत्रमा झरेको छ । सिजनमा ६ खेल मात्रै बाँकी छँदा एभर्टनको २९ अंक छ ।

एभर्टनभन्दा तल वाट्फोर्डको २२ तथा नरिच सिटीको २१ अंक छ भने एभर्टनभन्दा माथि १७ औं स्थानमा रहेको बर्न्लेको ३१ अंक रहेकाे छ ।

प्रिमियर लिगमा आइतबार राति भएका अन्य खेलहरुमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदा बर्न्लेले वुल्भरह्याम्प्टन वान्डरर्समाथि १–० कै जित निकाल्यो ।

उता, ब्राइटन र साउथह्याम्प्टनले २–२ गोलको बराबरी खेलेका छन् । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३३ खेलबाट ८० अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा ७९ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको चेल्सी ६५ अंकका साथ तेस्रो स्थानमा यथावत रहेकाे छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०९:५३