सूचनाको शक्ति - The Power Of Information

        

रूपन्देहीमा टुंग्यायो कांग्रेसले उम्मेदवार, को कहाँ?

सत्तारूढ दल नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने अन्तिम समयमा आएर उम्मेदवारको टुंगो लगाएको छ।

आगामी बैशाख ३० गते हुने निर्वाचनको लागि आइतबारदेखि उम्मेदवारी दर्ता सुरू भएको छ। तर लामो समय पाँच दलीय गठबन्धन बीच भागबन्डामा अल्मलिएको कांग्रेसले आफ्नो भागमा परेका क्षेत्रमा आइतबार अबेर राति उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डे र तिलोत्तमा नगरपालिकाको प्रमुखमा रामकृष्ण खाणलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पाण्डे नेपाली कांग्रेस बुटवल उपमहानगरसमिती सभापति हुन् भने यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग बुटवलको नगरप्रमुखमा पराजित भएका थिए ।

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ रामकृष्ण खाण पनि तिलोत्तमाको नगर प्रमुखमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए। उनी नेपाली कांग्रेस रूपन्देहीका सभापति छन्।

त्यस्तै देवदह नगरपालिकाको प्रमुखको लागि बर्तमान नगरप्रमुख हिरा केसीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ। केसीले यसअघिको निर्वाचनमा नेकपा एमालेका टिकाराम चापागाईंलाई हराएका थिए।

उनी हाल नेपाली कांग्रेस रुपन्देही  क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन्। त्यस्तै सैनामैना नगरपालिकामा नेपाली कांग्रेस रूपन्देहीका पूर्व पार्टी उपसभापति रहेका फणीन्द्र शर्मा नगरप्रमुखको उम्मेदवार बनेका छन्।

यसअघिको निर्वाचनमा शर्मा पनि नेकपा एमालेका चित्र बहादुर कार्कीसँग नगरप्रमुखमा पराजित भएका थिए। नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको प्रमुखको लागि यसअघि नै ईस्तियाक अहमदलाई उठाउने निर्णय गरिसकेको थियो।

रूपन्देहीका उपमहानगरपालिका र नगरपालिकाका तालमेल गरेर उम्मेदवारी दिने पाँचदलीय गठबन्धनबीच यसअघि नै सहमति भएको थियो।

सहमति अनुसार उपमहानगर र नगरपालिका सबैमा नगरप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ।

उपप्रमुखमा भने बुटवलमा नेकपा एकीकृत समाजवादीले चीन बहादुर गुरुङलाई उठाउने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०९:२५