सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

गठबन्धनबाट माओवादी बाहिरिएपछि नेपालगन्जमा अन्योल

नेपालगन्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ । माओवादीले उपमहानगरपालिकामा अन्यायपूर्ण तरिकाले गठबन्धन गरिएको जनाउँदै गठबन्धनमा नबस्ने निर्णयसहित एक्लै निर्वाचनमा जाने घोषणा गरेपछि अन्योल उत्पन्न भएको छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले नेपालगन्जमा प्रमुख र उपप्रमुख दुवै नपाएपछि धेरै वडा पाउने अडान राखेकोमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले धेरै वडा पनि छोड्न नमानेपछि माओवादीले गठबन्धनबाट बाहिरिने निर्णय गरेको दलका नेपालगन्ज अध्यक्ष रतन शाहीले बताए ।

सोही कारणले माओवादी केन्द्र नेपालगन्जले प्रमुख र उपप्रमुख लगायत सबै वडाध्यक्षमा उम्मेदवारी दिएर एक्लै निर्वाचन लड्ने निर्णय गरेको अध्यक्ष शाहीले बताए । सत्ता गठबन्धनको केन्द्रीय निर्णयअनुसार नेपालगन्जमा नेपाली काँग्रेसलाई प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको थियो ।

सो सहमति भएलगत्तै प्रमुख मागिरहेको जसपाले पनि कडा विरोध जनाएको थियो भने माओवादी केन्द्रले पनि अन्याय गरिएको प्रतिक्रिया दिँदै चर्को विरोध गरेको थियो । तर, पछि केन्द्रीय नेता र स्थानीय कार्यकर्ताको दबाबले गर्दा जसपाले उपप्रमुखमै चित्त बुझाएको थियो ।

नेपालगन्जका २३ वटा वडामा भागबन्डा गर्न माओवादीले छलफल गर्दा काँग्रेस र जसपाले अधिकांश वडा छोड्न नमानेपछि गठबन्धनमा बस्नुको औचित्य नरहेको जनाउँदै गठबन्धनबाट बाहिरिएर एक्लै निर्वाचनमा जाने घोषणा गरेको माओवादी केन्द्र नेपालगन्जले जनाएको छ ।

जसपा र नेपाली काँग्रेसले पनि सबै वडामा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने निर्णय गरेपछि गठबन्धनको अवस्था के रहने हो भन्ने बारेमा अन्योल उत्पन्न भएको छ । बाँके काँग्रेस र जसपाले आ–आफ्नो केन्द्रमार्फत माओवादीलाई गठबन्धन नछोड्न दबाब सिर्जना गराउने प्रयास गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०९:०६