सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

पहिलो दिन साढे १० हजारको मनोनयन

स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता चलिरहेको छ । उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो दिन सो संख्यामा उम्मेदवारी दर्ता भए पनि सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ । दोस्रो दिन पनि उम्मेदवारी दर्ताको समय दिइएकाले दोस्रो दिन अझ बढी उम्मेदवारी दर्ता हुने उनले बताए ।

सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले संख्या बढ्न सक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ ।

सो शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडा अध्यक्षमा दुई हजार ८२६ को उम्मेदवारी दर्ताको विवरण संकलन भएको छ । वडा सदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० उम्मेदवारी दर्ता भएको आयोगको प्रारम्भिक तथ्याङ्क छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुवै दिन बिहान १० बजे देखि ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

सोहीअनुसार वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०८:४९