बिहानै फेसवुक खोले, सात वर्षअघि मैले फेसबुकमा पोष्ट गरेको फोटो र भिडियोले फेरि त्यो महाभूकम्पको स्मरण गरायो । कुरा सात वर्षअघि आजकै दिनको । भनिन्छ, सपना केवल सपना नै हो, सपना कहिले पुग्दैन्, बन्द आँखाले देखेको सपना त झनै कहिले पनि पुरा हुँदैन । तर मलाई त्यस्तो भएन ।
सात वर्षअघि आजकै दिन, बिहानै ४ बजे आँखा खुल्यो, आज किन मैले सपनामा भत्किएको ठुटो धरहरा देखे ? मनमा प्रश्न उठ्यो, ह्या सपना जे पनि देखिन्छ भन्ने लाग्यो । कति पटक धरहरा चढ्न जाने सोचले पुग्थे, तर आँट नै गर्न सकिन । किन देखे सपना भन्ने कौतुलता जाग्यो, त्यति बेलासम्म मलाइ थाहा थिएन कि सपना पनि कहिलेकाहिँ बिपनामा परिणत हुन्छ ।
छिमेकीको घरको पुजामा निम्ता मान्न गएकी थिए । घर बाहिर आँगनमा पुजा चलिरहेको थियो, त्यहि महिलाहरु रोटी पकाउने काममा ब्यस्त थिए । आँगनमै म पनि उनीहरुलाई काममा सहयोग गर्दै थिए । पुजामा गुरुहरुको पाठ, फुलमाला र सजिएको घर मगमगाउदो धुपको बास्नाले सबैलाई आन्नद दिइरहेको थियो । सबै आआफ्नो काममा लागिरहेका थिए । एक्कासी जमिन थर्किएको, घर हल्लिएको आवाज कस्तो अनौठो गरेर आयो, सबैले चिच्याउदै भूकम्प भने ।
मैले भने भूकम्पको महशुस पहिलो पटक गर्दै थिए । कहिलेकाहिँ जाने सानातिना भूकम्प मैले थाहा नै पाएको थिइन । क्षणभरमै रोकिएला भन्दाभन्दै लामो समय नै हल्लिएपछि सबैमा भागाभाग भयो । त्यहाँ भएका सबैले आ आफनो घरको चिन्ता गरिरहेका थिए, मेरो पनि घरमा बच्चाहरुतर्फ ध्यान मोडियो । घरमा बच्चाहरु एक्लै भएकोले म पनि आत्तिए चिच्याउदै गर्दा सबै बाहिर निस्के, त्यति बेलासम्म पनि मलाई खासै डर लागेको थिएन । किनकी, आफ्नो आँखाले कुनै नोक्सान नै देखेको थिइन ।
तुरुन्तै फेसबुकमा स्टाटस लेखे पोखरामा डरलाग्दो भुकम्प…त्यसपछि तुरुन्तै इन्टरनेट र फोनले काम गर्न छोडयो, केहिक्षणमै अर्को कम्पन गयो, सबैलाइ त्रसित बनायो, सबैतिर होहल्ला र कोलाहल मच्चिएको थियो । केहि समयपछि इन्टरनेटले काम गर्यो, सबैभन्दा पहिलो पोष्ट देख्दा मेरो होसहवास नै उड्यो, सामाजिक सञ्जालमा कुनै ब्यक्तिको पोष्ट थियो, भूकम्पले धरहरा भत्कियो, थुप्रै ब्याक्तिको ज्यान गएको आशंका ।
झस्याङ्ग भए राती देखेको सपनाको याद आयो सपनामा मैले देखेको धरहराको तस्वीर र विपनामा त्यो तस्वीर उस्तै थियो । यो कुरा अरुलाई पनि सुनाए सबैलाई चिन्ताको बिषय बन्यो त्यस पल । त्यसलगत्तै एकपछि अर्को दुर्घटना कहाली लाग्दा खबरहरुले सम्पूर्ण देशवासीलाई रुवायो, सामाजिक सञ्जाल र न्यूजमा आएका दृष्यहरु आज फेरि ताजा भएका छन् । आजको यो दिन सायदै भुल्न सकिएला, देशले हजारौं ब्यक्ति गुमाएको कालो दिनभन्दा पनि कुनै फरक नपर्ला ।
२०७२ वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर बिनासकारी भूकम्प जसले थुप्रै जनधनको क्षति भयो । त्यसको तीन वर्ष बितिसक्दा पनि पिडीको घाउमा मलम लाग्न सकेको छैन । भूकम्पमा ८ हजारभन्दा बढीको ज्यान गएको थियो । उनीहरुको नाममा तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये कतिको त शव पोस्टमार्टम भए पनि अझै सनाखत नभएको अवस्था छ । पीडितको घरमात्रै होइन, भत्किएका धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका ऐतिहासिक सम्पदा बनाउने लगायतका कतिपय कामहरु अधुरै छन् ।
क्षतिग्रस्त संरचनाले अझै आकार लिन सकेका छैनन् भने कैयन भूकम्पपीडित अझै पनि टहरामै बसिरहेका छन् । सरकारले उपलब्ध गराउने भनिएको सहुलियत ऋण पनि झन्झटिलो बैंकिङ्ग प्रक्रियाका कारण लिन नसकेको अवस्था छ । कतिपय घर भत्किएका, आर्थिक अवस्था कमजोर भएका पीडितहरु लालपूर्जा नभएका कारण भत्किएका घर मर्मत तथा पुनःनिर्माणका लागि ऋणसमेत झिक्न नपाउँदा समस्यामा छन् । जीर्ण बनेका कतिपय सम्पदाहरु टेका लगाएर राखिएका छन् । सरकारी कार्ययोजनामा यी सबै सम्पदा ५ वर्षभित्रै सक्ने प्रतिबद्धता छ, तर पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्ने लक्ष्य भने कागजमै सीमित रहेको छ ।
भूकम्प प्रभावितलाई घर बनाउन अनुदानस्वरुप दिने भनिएको ३ लाख रुपैयाँ अप्ठेरो कार्यविधिका कारण कार्यान्वयनमा समस्या भएको छ । ७ लाख ६७ हजार घर भत्किएका थिए भने ७५३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको छ । घर भत्किएका प्रभावितलाई सरकारले ३ चरणमा ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरे पनि अहिलेसम्म सबैले त्यो रकम पाउन सकेका छैनन् । सात वर्ष भएछ, भूकम्पले तन्डव मच्चाएको, यो बीचमा न धरहरा उठ्न सक्यो न त सबै भत्किएका टहराहरु नै । कति जनताहरु अझै टहरामा छन् ।
भूकम्पपछि सात वटा वर्षायाम र सात वटा जाडो उनीहरूले टहरामै कटाए । प्रकृतिको मारभन्दा सरकारले आशावादी बनाएर दिएको मार बढी छ । पाँच सरकार फेरिए, नागरिकका त्रिपाल फेरिएनन्, सरकारको चाल फेरिएन । आशा छ, अब स्थायी सरकार बनेको छ । गाउँगाउँमा सिंहदरवार जाने सपना पुरा हुनेछ, देशले काँचुली फेर्नेछ । आगामी दिनमा कहिले पनि प्रकृतिले यति भयानक मार दिने छैन वा यस्तो घटना भोग्नुपर्ने छैन । बन्द आँखाले देखेको सपना पुरा हुनेछैन, सबै नेपाली जनताले खुला आँखाले देशको प्रगति देख्न पाउनेछन् । भूकम्पमा परि ज्यान गुमाएकाहरु नेपालीप्रति श्रद्धासुमन ।
तारा चापागाई ।