सूचनाको शक्ति - The Power Of Information

        

मुक्त कमैया शिविरमा आगलागी

कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको छ । गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको वडाध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन् । खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हो । आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ ।

उनका अनुसार धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको छ । दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

५० देखि ६० घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको उनको भनाइ छ । ‘धुवाँ आइरहेका कारण जलेका घरको विवरण सङ्कलन गर्न सकिएको छैन,’ उनले भने, ‘५० देखि ६० घर जलेर नष्ट भएको हामीलाई जानकारी गराइएको छ ।’ आगलागीको कारण अझैसम्म पुष्टि नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार १७:३४