मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकावासीको घरघरमा आइपुग्ने भएको छ ।
आज बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी रहेकाले पुरानो पाइपबाटै पानी पठाउने तयारी छ ।
विगतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्याएको र यसपालि पनि ती गाउँमा पानी पुर्याउने लक्ष्य राखिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो ।
गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो ।
तर अहिले थोरैबाट वितरण सुरु हुँदैछ । मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाण्डौ आइपुगेको थियो ।
तर गएको असार एक र साउन १७ गतेको बाढी/पहिरोले मेलम्चीमा क्षति गरेको थियो । काठमाण्डौ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ । तर वितरण भने मौसमअनुसार फरक पर्छ ।
सत्यपाटी । काठमाडौँ ।