नेकपा एमालेले ५ महानगरपालिका र ९ उपमहानगरपालिकाको उम्मेदवार टुङ्ग्याएको छ ।
शनिवार बसेको एमाले सचिवालय बैठकले काठमाण्डौ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा सुनिता डङ्गोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
उपमेयरको टिकट पाएकी डङ्गोलले यसअघि मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो। मिस नेवाः समेत रहेकी उहाँले चुनावी घोषणापत्र समेत सार्वजनिक गर्नुभएको थियो ।
एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । व्यञ्जनकार २०७४ मा पनि चिरिबाबु महर्जनसँग केही सय मतान्तरले पराजित हुनुभएको थियो ।
पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेबाट पोखराको मेयरका लागि १२ जनाले दाबी पेस गरेका थिए ।
भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । यसअघि नगर कमिटीले उहाँको मात्र नाम सिफारिस गरेको थियो । भरतपुरमा एमालेले उपमेयरको उम्मेदवार टुङ्ग्याएको छैन । त्यहाँ राप्रपासँग तालमेलको प्रयास भएको छ ।
एमालेले वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाएको छ । २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट मेयर जितेका उहाँ फेरि उम्मेदवार बन्ने सर्तमै एमाले प्रवेश गर्नुभएको थियो ।
उपमेयर भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई छाडेको छ । विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार भने टुङ्गो लाग्न बाँकी छ ।
यस्तै, एमाले सचिवालय बैठकले ९ वटा उपमहानगरको पनि उम्मेदवार टुङ्ग्याएको छ । धनगढीको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना तथा नेपालगञ्जमा पशुपतिदयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उमपेयरको उम्मेदवार बनाइएको छ ।
तुलसीपुरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी तथा घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हिमाकुमारी डीसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
बुटवलको मेयरमा बाबुराम खड्का र उपमेयरमा सावित्रादेवी अर्याल, हेटौँडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, धरान उपमहानगरको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बु तथा इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । कलैया उपमहानगरको मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उपमेयरको टुङ्गो लाग्न बाँकी छ।
एमालेले जनकपुर र जितपुर सिमरा उपमहागरको उम्मेदवार टुङ्गो लगाउन बाँकी छ ।
सत्यपाटी । काठमाडौँ ।