सूचनाको शक्ति - The Power Of Information

        

दुई वर्षदेखि बन्द पशु हाट बजार सञ्चालनमा

बाँकेको सबैभन्दा ठूलो पशु हाट बजारमा पुनः सुचारु भएको छ । वर्षौंदेखि बाँकेको जानकी गाउँपालिका–३, रम्मापूर्वामा लाग्दै आएको बाँके र बर्दियाको पशु हाट बजार कोभिडका कारण दुई वर्षदेखि बन्द थियो ।

अहिले सञ्चालनमा आउन थालेपछि ठूलो सङ्ख्यामा व्यापारी र किसान हाट बजार पुग्न थालेका छन् । शनिबार मात्र लाग्ने हाट बजारमा बाँके बर्दियाका मात्र नभई सुर्खेत र दाङदेखि किसान र व्यापारीले पशुको खरिद बिक्रीका लागि आउने गरेका छन् ।

रम्मापूर्वा पशु हाट बजारमा आउने किसान र व्यापारी पशु व्यापार गर्दा एकै दिनमा मनग्गे फाइदा लिन सकिने बताउँछन् । अहिले हाट बजारमा पुग्नेबित्तिकै पशु बिक्री हुने गरेकाले सहज भएको बाँके रनियापुरका पशुपालक किसान मोहम्मद शब्बिर खाँले बताए ।

नेपालगन्जका पशु व्यापारी रिजवान अन्सारीले पशु हाट बजारबाट अहिले निकै राम्रो आम्दानी भइरहेको बताए । उनले त्यहाँबाट पशु खरिद गरेर अन्यत्रै लगेर बिक्री गर्दै आएका छन् । बजारमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौँबाट समेत व्यापारी राँगा, भैँसी, खसी किन्नका लागि पुग्ने गरेको रम्मापूर्वाका स्थानीय व्यापारी जमीर खाँले बताए ।

करिब २५ वर्षदेखि सो पेसा गर्दै आएका व्यापारी खाँले गाउँमै बजार लागेकाले धेरै मानिसले काम पाएको पनि बताए । विगत २० वर्षदेखि हाट बजारमा व्यापार गर्दै आएका स्थानीय व्यापारी विष्णुप्रसाद श्रेष्ठ पशुको व्यापारबाट हरेक हप्तामा २० देखि ३० हजार रुपैयाँसम्म नाफा हुने बताउँछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार ०७:०५