सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार

पोखरामा धनराज आचार्य, हेटौँडामा मीना लामालाई उम्मेदवार बनाउने निर्णय

पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।

जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ भने हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउने सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।

यसैगरी बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

‘हाम्रो पार्टीको भागमा परेको एक महानगरपालिका र एक उपमहानगरको प्रमुख उम्मेदवार बनाउने नेता चयन गरेका छौँ’, उनले भने, ‘सबै नामहरु सर्वसम्मत चयन गरिएका छन् । भोलि उम्मेदवारी मनोनयन गर्छौं ।’

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १४:५८