सूचनाको शक्ति - The Power Of Information

        

विशेष रिपोर्ट

चुनाव जित्न एमाले उम्मेदवारको ‘कालाजादु’

घोषणापत्र छोड्नुहोस्, विकासका कुरा त झन् सबै गफै हुन् । सत्तामोहले आदर्शका कुरा पनि सब बकवास बनाइसक्यो । मौका परे सबैले गर्ने भ्रष्टाचारको त झन् के विरोध गर्नु ? अब त मधेसका मुद्दामा कोही बोल्न चाहँदैनन् । सायद, ती मुद्दा बिक्नै छाडिसके ! त्यसैले यहाँ नयाँ मुद्दा आएको छ, काला जादुको । यो हो ‘वीरगञ्ज राजनीति’, अर्थात् मधेसको एक मात्र महानगरपालिकाको राजनीति ।

उद्योगपति समेत रहेका विजयकुमार सरावगीलाई चुनाव जित्न साम, दाम, दण्डभेदसँगै कालाजादुको प्रयोग गरेको आरोप लागेको छ । यसैलाई विजयका विपक्षीले चुनावी मुद्दा बनाएका छन् । तराईमा बढेको प्रचण्ड गर्मीसँगै आर्थिक महानगरमा चुनाव प्रचार प्रसारको राप पनि तात्तिँदै गएको छ । सत्ताधारी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंह श्रेष्ठ र प्रतिपक्षी गठबन्धनको तर्फबाट एमालेका विजयकुमार सरावगीले एकापसमा चुनावी आरोप प्रत्यारोपका एजेन्डाहरू अगाडि सारेका छन् ।

विगतको चुनावमा मधेस आन्दोलनको केन्द्रबिन्दु रहेको वीरगञ्जको स्थानीय चुनाव मधेस पक्षधर र विपक्षी दलहरू बीच भए पनि यसपटकको चुनावी एजेन्डा र प्रचारप्रसारको नारा विकास र भ्रष्टाचारमा मात्र केन्द्रित हुनुपर्ने थियो । विगत ५ वर्षमा मधेसी दलभित्र देखिएको सत्तामोह र जसरी पनि चुनाव जित्ने मनसायले बनेका गठबन्धनले गर्दा पनि मधेसी जनतामाझ आन्दोलनका मुद्दाहरू गौण भएको देखिएको छ । विगतभन्दा फरक र आक्रामक देखिएको चुनावी प्रचार प्रसारका क्रममा नयाँ–नयाँ चुनावी एजेन्डाहरू समेत उठेका छन् ।

जसपाले आयोजना गरेको चुनावी सभाहरूमा, मेयर सरावगीले मधेससँग गद्दारी गरेको, महानगरको विकास भन्दा पनि भ्रष्टाचारमा आफ्नो कार्यकाल बिताएको जस्ता कुराहरू बढी गरिएका छन् । जसपाको तर्फबाट भएका कोणीय सभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद प्रदिप यादवले ‘चुनाव हार्ने निश्चित भएका कारण विजय सरावगी कालाजादुको प्रयोगमा लागेको’ बताएका छन् ।

सांसद प्रदिप यादव भन्छन्, ‘मेयर सरावगी चुनाव जित्नको लागी एक हप्तादेखि मसान घाटमा राती राती पूजा गर्दै हिँडेका छन्, त्यहाँ विपक्षीको फोटो राखी कालाजादुबाट हान्ने कामहरू भइरहेको छन् । मन्दिर मन्दिर पूजा पाठ गरिंदै छ तर पनि चुनाव चाहिँ हामी नै जित्छौ ।’ उता राजेशमान पक्षधरहरू चाहिँ मधेस विरोधी पार्टी एमालेमा प्रवेश गर्ने सरावगी भोट माग्न आउँदा महिलाहरूले झाडु र बेल्ना लिएर लखेट्न आह्वान गरिरहेका छन् ।

अर्कातिर राजेशमान र प्रदीप यादवको जोडीलाई गुन्डा र दादाको संज्ञा दिदै विजय सरावगीले गुन्डाराजबाट महानगरलाई बचाउन महानगरबासीलाई अनुरोध गरेका छन् । ‘यो लडाईं राक्षसी प्रवृत्तिको विरुद्धमा हो, आफ्नै दलले मलाई काम गर्न नदिएकोले नै म एमालेमा जान बाध्य भएको हुँ,’ विजय सरावगी भन्छन्, ‘आफू सात्विक व्यक्ति भएकाले विगतको चुनावमा गायत्री मन्त्रको जप गराएको र यो चुनावमा पनि पण्डितहरूबाट गायत्री मन्त्रको जप गराइरहेको छु ।’

जनता समाजवादी पार्टीका नेता राजेशमान सिँहले आफू मेयरमा निर्वाचित भएर सपथ लिएको दिन भ्रष्टाचारी मेयर सरावगीलाई हत्कडी लगाउने चेतावनी दिएका छन् । ‘सरावगीले गरेको भ्रष्टाचारको भण्डाफोर गर्छु, सरावगीले वीरगञ्ज महानगरपालिकामा चरम भ्रष्टाचार गरेको र विकासको नाममा वीरगञ्जको दोहन गरेको राजेशमान सिंहले बताएका छन् । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले सांसद प्रदीप यादवप्रति आक्रोश पोख्दै कडा प्रतिक्रिया दिएका छन् ।

सोमबार वीरगञ्जमा भएको एक कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा मेयर सरावगीले ‘वडा सदस्यमा पनि नजित्ने सरावगीलाई मेयरमा जिताएँ’ भन्ने कुरा झुठो हो भन्दै सांसद यादवलाई प्रतिप्रश्न गरे, ‘त्यसरी जिताउन सक्ने भए आफ्नी पत्नीलाई उपमेयरमा किन जिताउन सक्नुभएन ?’ प्रदीपकी श्रीमती पिंकी यादव गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जको उपमेयरमा उठेर शान्ती कार्कीसँग पराजित भएकी थिइन् ।

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार ०९:१०